• १० मंसिर २०८२, बुधबार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

‘म हिंसा गर्दिन, म हिंसा पनि सहन्न’

blog

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १० गते । मुस्ताङमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित सदरमुकाम जोमसोम बजारसहित जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरूको आयोजना गरी अभियान मनाउन थालिएको हो ।  

सदरमुकाम जोमसोममा प्रभातफेरी गरी उद्घाटन गरिएको अभियान थासाङ, घरपझोङ, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिमा जनप्रतिनिधि तथा अन्य विभिन्न सङ्घसंस्थाबाट सहयोगमा मनाइने जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले बताउनुभयो । 

मङ्गलबारदेखि विभिन्न नाराहरू भन्दै प्लेकार्डहरू प्रदर्शनसहित प्रभातफेरी र्‍यालीमा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोनसिङ लालचन, प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय सङ्घसंस्था लगायत सरोकारावाला निकायका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । बिहान र साँझको समयमा अत्याधिक जाडो रहेको मुस्ताङमा नेपाल प्रहरीले समेत समुदायसँग प्रहरी कार्यक्रम अन्तरगत १६ दिने अभियानमा लैङ्गिक हिंसा विरुद्धका कार्यहरू सञ्चालन गर्ने जनाएको छ । मुस्ताङलाई लैङ्गिक हिंसा विरुद्धको अभियान प्रभावकारी बनाउँदै लैङ्गिक हिंसारहित जिल्लाको रूपमा स्थापित गर्न हरेक घरबाट ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्ने छु’ भन्ने प्रतिबद्धता आवश्यक रहेको प्रजिअ शर्माको भनाइ छ । 

लैङ्गिक हिंसा न्युनीकरण गर्नका लागि सबै एकजुट भएर लाग्न सकेमा मुस्ताङलाई नेपालकै नमुना जिल्ला बनाउन सकिने प्रजिअ शर्माले बताउनुभयो । पछिल्लो समय मुस्ताङमा रोजगार तथा मजदुरीका लागि जिल्ला बाहिरबाट जानेहरुले मदिरा सेवनका घटनाले हिंसाका घटनाको गुनासो आउन थालेपछि सचेतनामुलक अभियानलाई प्राथमिकता दिइएको घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनले बताउनुभयो । महिलाई विभिन्न किसिमका आरोप लगाउनेर कुटपिट गर्ने, सामाजिक अपमान एवं लाञ्छना, भेदभावजन्य व्यवहार आदि पनि हिंसाकै रूप भएकाले पछिल्लो समय लैङ्गिक हिंसा विरुद्धको अभियानमा सामाजिक सञ्जालको दुरुपयोग समेत कारण बनेको छ । 

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियानहरू सुरु भएको पाइन्छ । हिंसा प्रायः महिलामाथी हुने गरेको भनिए पनि पुरुष समेत हिंसाको सिकार बनेका घटना धेरै रहेकाले समाजमा रहेका सबै प्रकारका हिंसाको अन्त्यका लागि दिवसलाई प्रभावकारी बनाउनुपर्नेमा मुस्ताङका सरोकारवाला निकायले जोड दिएका छन् । 

मुस्ताङको सदरमुकाम जोमसोममा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जिल्लाका पाँचवटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी अभियान मनाइने छ ।