• ९ मंसिर २०८२, मङ्गलबार

महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

blog

सिंहदरबारमा मङ्गलबार आयोजित ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की तथा अन्य सहभागी । तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, मङ्सिर ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

 महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । 

उहाँले गरिबी रहँदासम्म समानता नहुने बताउनुभयो । गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्नेमा जोड दिनुभयो । 

उहाँ भन्नुहुन्छ, “ ‘पहिले गरिबी हटाउनुपर्‍यो । रोजगारी सिर्जना गर्नुपर्‍यो। महिलाले पनि रोजगारी गर्न पाउनुपर्‍यो । त्यसपछि मात्र समानता आउँछ, हिंसाको अन्त्य हुन्छ ।” 

महिला हिंसा अन्त्यका लागि स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्ने बताउनुभयो । नेपालमा नै रोजगार सिर्जना गर्न सकेमात्र महिला हिंसा अन्त्य हुने बताउनुभएको छ । 

उहाँ भन्नुहुन्छ,“मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानुपरिरहेको छ। रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ ।”

प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्ति गर्दा महिलालाई प्राथमिकता दिएको बताउनुभयो । 

उहाँले जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ त्यहाँ महिलालाई ल्याउने गरेको बताउनुभयो । उहाँले डिजिटल प्रविधिको कारणले पनि महिलाले बढी हिंसाको सिकार हुनुपरेको बताउनुभयो ।