नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर ९ गते । गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङका दुई वटा कार्यालयको एकीकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकीकृत गर्ने निर्णय गरे अनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकीकृत सेवा सुरु भएको हो ।
दुबै कार्यालयको साविकको नाम परिवर्तन गरी गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय नामाकरण भएको छ । उक्त कार्यालयको सेवा शुभारम्भ गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले गर्नुभएको हो । सेवा शुभारम्भ गर्दै मन्त्री डा. गुरुङले उपलब्ध सिमित स्रोत साधनलाई नागरिकको सेवामा बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताउनुभयो । संविधान र शासन व्यवस्थाका बारेमा उठेका गलत धारणाहरूलाई चिर्न पनि सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त पार्नुपर्ने उहाँको भनाइ थियो ।
प्रविधिमार्फत सेवालाई प्रभावकारी बनाउने, मानव सेवाभन्दा पनि प्रविधिमैत्री सेवालाई व्यवस्थित बनाउने सन्दर्भमा आफूहरू लागिपरेको मन्त्री गुरुङले बताउनुभयो । जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले साविकका दुई वटा कार्यालयबाट हुँदै आएका सेवालाई एकिकृत कार्यालयबाट झनै प्रभावकारी र चुस्तदुरुस्त बनाउन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले एकीकृत सेवाले राज्यको लागत पनि घट्ने र एकै ठाउँबाट सेवा पाउने हुँदा नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले प्रत्येक सेवाग्राहीलाई भगवान सम्झेर प्रभावकारी सेवा प्रवाहका लागि आग्रह गर्नुभयो ।
एकीकृत सेवा कार्यालयकी प्रमुख मिताकुमारी थापाले कार्यालयलाई प्राप्त अधिकार, कार्ययोजना र कर्मचारी दरबन्दी बारे जानकारी गराउनु भएको थियो । १० जना कर्मचारी दरबन्दी रहेकोमा हाल पाँच वटा पद रिक्त रहेकाले सेवा प्रभावकारी बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । यसअघि गण्डकी प्रदेशले प्रदेश अन्तर्गतका सात वटा निर्देशनालयको खारेज र केहि कार्याललयहरू एकीकरण गर्ने निर्णय गरेको थियो । सोही एकीकृत कार्यालयहरूको कार्यान्वयन सुरु गरिएको हो ।