• ९ मंसिर २०८२, मङ्गलबार

उत्तरी गोरखाको सामागाउँबाट पशुमा पूर्ण खोप सुरु

blog

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर ९ गते ।
उत्तरी गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका–१, सामागाउँबाट पशुमा पूर्ण खोप कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ । कठोर भौगोलिक अवस्था, न्यून तापक्रम तथा सिमित स्वास्थ्य सेवा पहुँचका कारण वर्षैदेखि पशु रोग नियन्त्रण चुनौती बनेको सामागाउँमा पहिलो पटक मङ्गलबारबाट खोप अभियान सञ्चालन भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख अनन्त कोइराललो जानकारी दिनुभयो ।

चुमनुब्री गाउँपालिकाको कृषि तथा पशुपालन शाखाको समन्वयमा सुरु गरिएको यो अभियानअन्तर्गत याक, चौरी, नाखु, गाई, बाख्रा लगाउत करिब एक हजारभन्दा बढी पशुमा पूर्ण खोप लगाउने लक्ष्य राखिएको छ । खोप अभियानको लागि पशु सेवा प्राविधिकहरूको टोली सामा गाउँमैै खटाइएको भेटनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र गोरखाले जनाएको छ ।

हिमाली क्षेत्र विशेष गरी याक, चौरी र झारल पालनका लागि परिचित मानिन्छ । उच्ची हिमाली भुभागमा बसोवास गर्ने स्थानीय समुदायको मुख्य आर्थिक आधार नै पशुपालन नै भएकाले रोग नियन्त्रण अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।

हिउँद र बर्खा याममा पनि फैलने खोरेत लम्की स्किन रोगले बर्सेनि ठुलो आर्थिक क्षति भइरहेकाले यस पटक उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्थानीयका लागि राहत र क्षति न्यूनीकरणका लागि खोप अभियान सुचारु गरिएको बताइएको छ ।

कार्यालय प्रमुख अनन्त कोइरालाले पशु स्वास्थ्यलाई अत्यन्त प्राथामिकतामा राखेर याक चौरी र गाई पालनसम्बन्धी चुनौती र समाधानका लागि नियमित सेवा विस्तार गरी उत्तरी गोरखावासी नागरिकको आर्थिक जीवनसँग प्रत्यक्ष सम्बन्धित पशुहरूको स्वास्थ्य जोगाउन अब कार्यालयले दक्ष प्राविधिकसहित वर्षभरि खोप तथा उपचार सेवा उपलब्ध गराउने छ ।

खोप अभियानमा सहभागी पशु स्वास्थ्य प्राविधिकहरूको टोलीले कठिन हिमाली मार्ग हुँदै घर घरमा पुगेर सेवा दिने दिइरहेका छन् । जसले गर्दा उत्तरी गोरखाका याक, चौरी तथा गाई पालक किसानहरू घरमै सेवा पाएर खुसीले दङ्ग भएका छन् ।

यस वर्ष सामागाउँमा खोप अभियान सुरु भएपछि पशुरोगको जोखिम घट्ने आशा गरिएको छ, सामागाउँका पशुपालका किसान पासाङ दोर्जेले भन्नुभयो, ‘‘प्रत्योक वर्ष हिउँदमा रोग लागेर धेरै याक चौरी मर्ने गर्थ्याे , अब भने नियमित खोप भएपछि हामीलाई धेरै ठुलो राहत मिल्छ ।’’

पूर्ण खोप अभियान सुरु भएपछि सामागाउँ र आसपासका बस्तीका पशुपालकहरूमा उत्साह बढेको छ । भेटनरी तथा पशुसेवा कार्यालय गोरखाले खोप अभियान निरन्तरता भए स्वास्थ्य र आयआर्जन दुबै क्षेत्रमा सकारात्मक परिवर्तन देखिने स्थानीयहरूको विश्वास छ ।