• ९ मंसिर २०८२, मङ्गलबार

चिनीयाँद्वारा ताक्लाकोटबाट नेपाली कामदारलाई फर्काउन सुरु

blog

चीनको ताक्लाकोटबाट फिर्ता पठाईएका नेपाली कामदाहरु हिल्सामा फिर्ता आउँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, मङ्सिर ९ गते ।
चिनीयाँ पक्षले कामका लागि ताक्लाकोटमा बस्दै आएका हुम्लावासीलाई फिर्ता पठाउन सुरु गरेको छ । चिसो बढेपछि ताक्लाकोटमा काम गर्न नसकिने जनाउदै हुम्लाका युवा युवतीलाई फिर्ता पठाउने कार्य सुरु गरिएको हो ।

छ महिना ताक्लाकोटमा काम गरेर ताक्लाकोटबाट फिर्ता पठाइएका सिमकोट गाउँपा–७ का पाल्दन बिकले चिसो बढेपछि नेपाली कमदारलाई फिर्ता पठाउन सुरु गरिएको बताउनुभयो । चिसोमा काम गर्न नसकिने भन्दै अधिकांस नेपाली कामदारलाई फिर्ता पठाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

चिसोले काम गर्न नसकिने भन्दै चिनीयाँ पक्षले ताक्लाकोटमा रहँदै आएका कामदारलाई खोजेर हिल्सातर्फ पठाइरहेको उहाँको भनाइ छ । करिब चार सयभन्दा बढी हुम्लावासी हाल ताक्लाकोटमा रहेको र उनीहरुमध्ये अधिकांसलाई नेपाल फर्काउने तयारी चिनीयाँले गरेको उहाँले बताउनुभयो । यतिबेला ताक्लाकोटमा कामविहीन भने कोही नेपाली रहनुभएको छैन । सबै काममै रहेको भए पनि चिनीयाँ सुरक्षाकर्मीले पठाएपछि फिर्ता आउनुको अन्य बिकल्प नभएको बिकले बताउनुभयो ।

ठुला व्यापार व्यवसाय गर्दै आएका बाहेक अन्य सबैलाई नेपाल फर्काउने जानकारी चिनीयाँ पक्षले दिएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । ताक्लकाोटमा बस्दा काम नहुँने र त्यसै बस्दा बिकृति र बिसंगतीमा लाग्ने सम्भावना देखिएपछि चिनीयाँ प्रहरीले नेपाली कामदारलाई फर्काउने कार्य गरिरहेको उहाँले बताउनुभयो ।

काम नभएको बेला नेपालीहरु जुवातास तथा रक्सी सेवामा लाग्ने गरेको आरोप चिनीयाँ पक्षको छ । मङ्सिर महिना लागेसँगै ताक्लाकोबाट दैनिक १५ देखि २० जना नेपाली फिर्ता आउने गरेको उहाँले बताउनुभयो । हालसम्म डेढ सय नेपाली ताक्लाकोटबाट चिनीयाँ प्रहरीले फिर्ता पठाएको उहाँको भनाइ छ । यो क्रम जारी रहने छ ।

नेपालीलाई फिर्ता पठाएको भए पनि हिल्सा नाका भने खुल्ला रहने चिनीयाँ पक्षले जनाएको छ । गत वैशाख महिना हुम्लाका युवायुवती काम तथा व्यापारका लागि ताक्लाकोटमा गएका थिए ।