खलङ्गा समाचारदाता
जाजरकोट, मङ्सिर ९ गते । जाजरकोट अस्पतलामा एक महिनदेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा अवरुद्ध भएको छ । सरोकारवाला निकायले मेसिन मर्मत नगरी बेवास्ता गरेपछि उपचारका लागि आएका बिरामीलाई समस्या भएको हो । जाजरकोटको ग्रामीण गाउँबस्तीका जनतालाई सेवा दिन ५० शय्याको अस्पतालबाट सामान्य सेवा उपलव्ध नहुँदा बिरामी सिफारिस गर्ने गरेका छन् । नेपालगन्ज, सुर्खेत, काठमाडौँका अस्पतालबाट पाउने सेवा सुविधा दिन करिब १० वर्षअघि १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको थियो ।
औषधी, एक्सरेलगायतका सेवा नपाएपछि बिरामी रुकुमपश्चिमको चौरजहारी अस्पतालमा जाने गरेका छन् । स्थानीय तह, सरोकारवाला निकाय, अस्पताल व्यवस्थापन समितिको बेवास्ताका कारण उपचार गर्न आएका बिरामीले सास्ती पाउने गरेका हुन् । जिल्लामा अत्याधुनिक भवन बनेपछि विभिन्न रोगको सेवा पाउने आशा गरेका सर्वसाधारण निराश भएका छन् ।
भेरी नगरपालिका–३ की शोभा सिंहले एक्सरे मेसिन बिग्रिएको एक महिना बिते पनि सरोकारवाला निकायले मर्मत नगरेपछि अस्पतालबाट पाउने सेवा ठप्प भएको बताउनुभयो । उहाँका अनुसार जाजरकोट अस्पतालमा रक्तस्राव रोक्ने औषधीसमेत छैन । गरिब, विपन्न, आर्थिक अवस्था कमजोर, जोखिममा परेका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले सहज सेवा नपाएपछि साहुबाट ऋण लिएर औषधी उपचारका लागि बाहिर जानुपर्ने अवस्था आएको छ । लामो समयदेखि बिग्रिएको एक्सरे मेसिन बनाउनतर्फ ध्यान गएको छैन । जाजरकोट अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीका अनुसार विशेषज्ञ डाक्टरको दरबन्दी सात जनाको भए पनि दुई जना स्थायी र दुई जना करारबाट पूर्ति गरेर सेवा दिइएको छ । आठ जना मेडिकल अधिकृत दरबन्दी भए पनि डा. अखिलेश्वर झा र भूपेन्द्र बजगाईं स्थानीय र बाँकी पाँच जना डाक्टर करार सेवामा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बत्ती नियमित नहुँदा मेसिनमा समस्या आउने र मर्मत गर्न कठिनाइ भएको छ ।
अस्पतालका व्यवस्थापक डा. सुनील पुनका अनुसार सानो प्रोटेबल मेसिनको सामान नेपालमा नपाइने र भारतबाट ल्याउनु परेका कारण केहिदिनमा मर्मत गरी सञ्चालनमा ल्याइने छ । उहाँले सामाजिक सुरक्षा अन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्गता, अति गरिब, विपन्न जनताले पाउने औषधी खरिदका लागि ठेक्का भइसकेकाले छिट्टै औषधी पूर्ति गरिने बताउनुभयो ।