बागमती, मङ्सिर ९ गते । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् ।
गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताउनुभयो ।
प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी आझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार छन् । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनुभयो । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताउनुभयो । रासस