अमरराज नहर्की
तनहुँ, मङ्सिर ९ गते । तनहुँको देवघाट गाउँपालिका–३ मा उत्पादन हुने सुन्तला गुणस्तरका दृष्टिले नेपालकै उत्कृष्ट मानिन्छ । छिपछिपे, बाटक, छापस्वाँरा, दगरा र लुङ्ग्रिङ क्षेत्रका बगैँचाबाट हरेक वर्ष करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गर्दछ । यहाँ फलाइने सुन्तला तनहुँ, पोखरा, चितवन हुँदै काठमाडौँसम्म आपूर्ति भए पनि ढुवानीका कमजोरी र संरचनागत अभावले किसानलाई वर्षौँदेखिको समस्या झनै बल्झिँदै गएको छ ।
कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले तीनतिर घेरिएको यस वडामा आजसम्म कुनै पनि नदीमा पक्की पुल नबनेपछि सडक पहुँच विकास हुन सकेको छैन । सडक–पुल अभावका कारण किसानले उत्पादन बजारसम्म पुर्याउन तुइन, झोलुङ्गे पुल, भरिया तथा ग्राभिटी रोपवेमा निर्भर रहनुपरेको कृषक रणबहादुर मगर बताउनुहुन्छ । उहाँका अनुसार पक्की पुल नहुँदा करोडौँ मूल्यको सुन्तला बजारसम्म पुर्याउन नै सकस हुने गरेको छ ।
यस वर्ष सुन्तलामाथि केही रोग देखिए पनि उपभोक्ताको माग उच्च रहेकाले आम्दानी विगत वर्षभन्दा करिब ३० प्रतिशतले वृद्धि भएको कृषकले बताएका छन् । तर रोग र ढुवानी दुबै समस्या दीर्घकालीन रूपमा उत्पादनमा असर पार्ने भन्दै किसान चिन्तित छन् । जरा कुहिने, बेमौसमी पहेँलो हुने र बोक्रा झर्ने समस्या देखिन थालेपछि केही बोट सुक्न थालेको किसानको गुनासो छ । कृषक प्रेमबहादुर मगरका अनुसार यस वर्ष पहिलो सातामै सुन्तला बजार पठाउनुपरेको छ । उहाँले भन्नुभयो, ‘‘बजारसम्म सुन्तला पु¥याउन बाटो–पुलको अभावले भरियामार्फत ढुवानी गर्दा खर्च धेरै पर्छ । नाल्दी र गाईघाटमा पुल नहुँदा हामी कोटा, बैदी, साराङघाट हुँदै दमौलीबाट काठमाडौँ पठाउन बाध्य छौँ ।’’
यही समस्याले गर्दा किसान दोब्बर भाडा तिर्न बाध्य भएको किसान भीमबहादुर रानाको भनाइ छ । उहाँका अनुसार केही किसानले मुग्लिन–नारायणगढ सडकखण्डको गाईघाटसम्म जिपमा ल्याएर फेरि झोलुङ्गे पुल तारेर राजमार्गसम्म बोक्ने गरेका छन् । छापस्वाँरा र दगरा क्षेत्रका किसान भने ग्राभिटी रोपवे प्रयोग गरी बुद्धसिंह मार्ग हुँदै दमौलीबाट काठमाडौँ बजार विस्तार गर्ने गरेको पाइन्छ । सडक अभावले गर्दा बिचौलियामै निर्भर रहनु परेको, प्रत्यक्ष बजार पहुँच अभावले उचित मूल्य नपाइने र ढुवानी खर्च अत्यधिक हुने समस्या वर्षौँदेखि कायम छ । लुङ्ग्रिङका केही घरमा एक वर्षमै २० लाख रुपियाँभन्दा बढीको सुन्तला बिक्री हुने गरेको भए पनि संरचनागत अभावले किसानको आयस्तर अपेक्षित रूपमा बढ्न सकेको छैन ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाका अनुसार यहाँको माटो र हावापानी सुन्तला उत्पादनका लागि अत्यन्त अनुकूल भए पनि सडक–पुल नहुँदा किसानले आफ्नै उत्पादन बिक्री गर्न कठिनाइ भोगिरहनु परेको छ । गाउँपालिकाले वडालाई सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि संरचनागत अभावले किसानले यसको पूरा लाभ लिन नसकेको उहाँको भनाइ छ ।
पालिकासँग पुल निर्माण गर्न सक्ने सामर्थ नभएकाले प्रदेश र सङ्घ सरकारले पुल निर्माणमा ध्यान दिन नसक्दा समस्याम परेको उहाँको भनाई छ । बुद्धसिंह मार्ग सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउनेमा त्रिशुली नदीमाथि पुल नबन्दा देवघाटसँगै बन्दीपुर, आँबुखैरेनी र व्यास–१३, १४ का किसान पनि ढुवानी समस्याले समान रूपमै प्रभावित छन् । मगरले भन्नुभयो, ‘‘बुद्धसिंह मार्ग राम्रो भएको भए यातायात सहज मात्र होइन, ढुवानी खर्च घटेर किसानको आयस्तरमा पनि ठूलो परिवर्तन आउँथ्यो ।’’
सुन्तलासँगै अदुवा, केरा, टिमुर, अलैँची, कफी, निउरोजस्ता अन्य स्थानीय उत्पादनसमेत यही मार्ग र रोपवेमार्फतै बजारसम्म पु¥याइन्छ । तर पक्की पुल नहुँदा उत्पादनसम्बन्धी सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकिरहेको किसानको साझा धारणा छ । सडक–पुल बन्न नसक्दा उत्पादन राम्रो हुँदाहुँदै पनि सुन्तला उत्पादक किसानलाई ढुवानीकै समस्या निरन्तर मर्का परेको मगर बताउनुहुन्छ ।