• ९ मंसिर २०८२, मङ्गलबार

तोकिएभन्दा वर्ष दिनअगावै बन्यो पुल

blog

खोटाङको वराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा निर्माण भएको पक्की पुल ।

राजकुमार भट्टराई 

खोटाङ, मङ्सिर ९ गते  । खोटाङको वराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा १४८ मिटर पक्की पुल तोकिएको अवधिभन्दा वर्ष दिनअगावै सम्पन्न भएको छ । वराहपोखरी गाउँपालिका–५, पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१, देवीस्थान जोड्ने पुल निर्माणका लागि २०८१ वैशाख ३० गते योजना सम्झौता भएको थियो । २०८३ कात्तिक ३१ सम्म पुल सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि एक वर्षअगाडि नै निर्माण सम्पन्न गरेको हो । 

कोशी प्रदेश सरकारको १७ करोड ७० लाख १० हजार २६५ रुपियाँ लागतमा जयवागेश्वरी रेग्मी चुरिया जेभीले पुल निर्माण गरेको हो । कोशी प्रदेश भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले पुल उद्घाटन गर्नुभएको छ । तोकिएको मितिभन्दा एक वर्षअघि नै निर्माण भएको पुल प्रदेश सरकारले निर्माण गरेको हालसम्मकै लामो पक्की पुल रहेको मन्त्री राईले बताउनुभयो ।

मन्त्री राईले पुल शिलान्यास गरेर निरन्तर अनुगमन गर्नुभएको थियो । निर्माण कम्पनीले पनि पुलको काम तीव्र गतिमा गरेको थियो । पुल उद्घाटन गर्दै मन्त्री राईले हरेक विकासनिर्माणका काम यसरी नै अगाडि बढ्नुपर्ने बताउनुभयो । सरकारले समयमै रकम भुक्तानी गर्ने र निर्माण कम्पनीले धमाधम काम गर्दा कुनै पनि संरचना अलपत्र नहुने उहाँको भनाइ छ ।  

बुवाखोलामा पुल नहुँदा कक्षा १० मा पढ्दै गरेकी छोरीलाई खोलाले बगाएको सम्झिँदै स्थानीय मैनटारका मानबहादुर तामाङले अब सबैलाई सहज हुने बताउनुभयो । पहिले बुवाखोलामा पुल निर्माण भएको भए आफ्नी छोरीको मृत्यु नहुने भन्दै मानबहादुर भावुक हुनुभयो । सोही बाटो भएर पहिले मानिस ढाकर बोकेर हिँड्थे । पछि खच्चड हिँड्न थाले । केही वर्षअघि सडक आयो र हिउँदको समयमा सवारीसाधन गुड्न थालेको स्थानीय सुनाउँछन् । खोलामा पक्की पुल निर्माण भएपछि अब सधैँ सवारीसाधन आवतजावत गर्ने पूजन कार्की बताउनुहुन्छ । एक वर्षमै पुल सञ्चालनमा आएपछि गर्दा हुँदो रहेछ भन्ने लागेको स्थानीय भुवन राईको भनाइ छ । 

बुवाखोलामा पुल निर्माणपछि विशेष जन्तेढुङ्गा गाउँपालिका–१ र २ तथा छिमेकी जिल्ला भोजपुरको आमचोक गाउँपालिकाका केही भूभागका नागरिक विशेष लाभान्वित भएका छन् । तराई आउजाउ गर्न बुवाखोला पुलले उनीहरूलाई ठुलो राहत प्रदान गरेको छ । नजिकै रहेको वंशिलाघाटस्थित दुधकोशीमा बेलिब्रिज जडानपछि तराई आवजावत गर्न छोटो दुरीका रूपमा उक्त सडक जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिकालगायतका ठाउँका मानिसले समेत प्रयोग गर्ने छन् । करिब एक महिनाभित्रमा वंशिलाघाटमा बेलिब्रिज निर्माण हुने कोशी प्रदेश सरकारले जनाएको छ । वंशिलाघाटमा पक्की पुल निर्माणाधीन रहेको छ । बुवाखोलाकै अर्को सडकखण्डमा पक्की पुल निर्माणका लागि कोशी प्रदेश सरकारले ठेक्का आह्वान गरेको छ ।