गुल्मी, मङ्सिर ९ गते । पहाडी जिल्लाको ग्रामीण भेगमा खर काट्ने समय सुरु भएको छ । घरगोठ छाउनुका साथै गाईवस्तुका लागि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त छन् । छिमेकी सबै मिलेर खर काट्ने र त्यसलाई टौवा बनाएर स्याहार्ने गर्छन् ।
बिहानमा आफ्नो घरको काम गर्ने अनि दिनभरि सबै मिलेर एकअर्काका भिरपाखामा रहेको खर काट्ने अनि साँझ मात्र घरमा फर्किने चलन ग्रामीण भेगमा अझै पनि छ । यो समयमा छिमेकी दिदीबहिनी सुख, दुःखका कुरा गर्दै खर काट्नमा निकै व्यस्त देखिन्छन् । अहिले काटेर राखेको खरले घरगोठ छाउनुका साथै हिउँद र वर्षासम्मका लागि गाईवस्तुलाई खुवाउन निकै सजिलो हुने गरेको छ ।
गुल्मीको मालिका गाउँपालिका–२, दर्लिङकी विष्णु विश्वकर्माले खर काट्ने समय सुरु भएको बताउनुभयो । उहाँले आफ्नै खरबारीमा रहेको खर छिमेकीसहित विगतदेखि नै चार/पाँच जना महिला दिदीबहिनीको सहयोगमा काट्दै आएको बताउनुभयो । अहिले काटेर राखेपछि हिउँदमा गाईवस्तुलाई खुवाउन र गोठ छाउन सजिलो हुने भन्दै विष्णुले आफूले भैँसी, बाख्रा पालेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “म जस्तै अन्य दिदीबहिनी पनि अहिले खर काट्नुका साथै बारीमा पाकेको कोदो स्याहार्नमा निकै व्यस्त हुनुहुन्छ । कोहीकसैले मिलेर खर काट्ने गर्छौं । कसैले खर काटेबापत ज्याला पनि लिने गर्नुहुन्छ ।” उहाँले कसैले खर काटेर बिक्रीसमेत गर्ने अनि घर खर्चसमेत चलाउँदै आएको बताउनुभयो ।
मदाने गाउँपालिका–१, अग्लुङकी सावित्रा सुनार पनि खर काट्न निकै व्यस्त हुनुहुन्छ । बिहानै घरबाट यही कामका लागि निस्कने गरेको भन्दै उहाँले खाजा खानासमेत बोकेर खरबारी पाखापखेरामा खर काट्न पुगेको सुनाउनुभयो । खर काटेर नै घर खर्चको जोहो गरेको सावित्राको भनाइ छ ।
सोही स्थानका महेन्द्र जिसीको परिवार पनि अहिले खरसँगै बारीमा रहेको कोदो काट्न निकै व्यस्त देखिन्छ । उहाँले खर काटेर घरसम्म ल्याएर स्याहार्दासम्म छिमेकीको सहयोग आवश्यक पर्ने बताउनुभयो । भिरपाखामा काटेको खर ल्याउन पुरुषले पनि सहयोग गर्ने भन्दै उहाँले आफू पनि खर काट्न जाने गरेको सुनाउनुभयो । खर भिरमा हुने भएकाले काट्ने बेला अप्ठ्यारा झेल्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।