चितवन समाचारदाता
चितवन, मङ्सिर ९ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर र रत्ननगर जोड्ने निकुञ्ज क्षेत्रको कोरिडोरमा जनावर वारपार गर्न मिल्ने गरी ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ । नारायणगढदेखि पथलैयासम्मको राजमार्ग विस्तारका क्रममा चितवन राष्ट्रिय निकुञ्जको कोरिडोर क्षेत्रमा ‘फ्लाइओभर’ बन्न लागेको हो ।
सडक विस्तारका लागि धेरै वर्षदेखि तयारी भए पनि यसले पूर्णता पाएको थिएन । आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चूडाराज ढकालले नारायणगढ–हेटौँडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही सडक विस्तार तथा स्तरोन्नतिका व्रmममा निकुञ्जका जनावर वारपार गर्नका लागि ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।
“सडक विस्तारका लागि केही हप्ताभित्रै ठेक्का आह्वान गर्ने तयारीमा छौँ,” निर्देशक ढकालले भन्नुभयो, “एसियाली विकास बैङ्क (एडिबी) को सहुलियतपूर्ण ऋणमा मुख्य सडक चार लेन र बजार क्षेत्रमा सर्भिस लेनसहित आठ लेन सडक बनाइने छ ।” नारायणगढदेखि पथलैयासम्म स्तरोन्नति हुने सडकको पहिलो चरणमा गोन्द्राङसम्म करिब सात किलोमिटर निर्माण भइसकेको छ । जम्मा एक सय किलोमिटर रहेको यो सडकखण्डको बाँकी क्षेत्रमा अब नयाँ ठेक्का लगाएर निर्माण हुने निर्देशक ढकालले बताउनुभयो । यसै व्रmममा ‘फ्लाइओभर’ निर्माण आवश्यक भएकाले यसको तयारी भएको उहाँले बताउनुभयो । “नेपालका लागि यो नयाँ प्रयोग हुने छ । दुई किलोमिटर लामो आकर्षक ‘फ्लाइओभर’ निर्माणका लागि करिब सात अर्ब रुपियाँ लाग्ने अनुमान गरेका छौँ,” उहाँले बताउनुभयो । ढकालका अनुसार ‘फ्लाइओभर’ तीन÷तीन लेनको बन्ने छ । दुवैतर्फ एक÷एक लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्ने छ । बाँकी चार लेनमा दुई÷दुई लेनमा दुवैतर्फ सवारी ओहोरदोहोर गर्ने छन् । पुल निर्माणपछि नयाँ पर्यटकीय क्षेत्र बन्ने उहाँले बताउनुभयो ।
‘फ्लाइओभर’ मा माथिबाट सवारीसाधन गुड्ने छन् । त्यसको तलबाट वन्यजन्तु ओहोरदोहोर गर्ने छन् । ‘फ्लाइओभर’ वन्यजन्तुको सुरक्षाका लागि निर्माण गर्न लागिएको हो । यस क्षेत्रमा दैनिक करिब २० हजार सवारीसाधन गुड्ने गर्छन् । तीव्र रूपमा सवारीसाधन सञ्चालन हुँदा वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले सडक विस्तारका व्रmममा ‘फ्लाइओभर’ निर्माण गर्न आवश्यक पहल गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करिब दुई किलोमिटर लामो पुल बन्ने छ । पुल बन्ने सुनिश्चित नहुँदासम्म सडक विस्तारको काम हुँदैन । ‘फ्लाइओभर’ निर्माण सुनिश्चित भएकाले विस्तारको काम अगाडि बढेको हो,” उहाँले भन्नुभयो ।
पथलैया–हेटौँडा–नारायणगढ सडक अन्तर्गत पहिलो चरणमा टिकौली जङ्गल र अर्को चरणमा अमलेखगन्ज आधाभार वनक्षेत्रमा ‘फ्लाइओभर’ बन्ने उहाँले जनाउनुभयो । यस क्षेत्रको सडक स्तरोन्नतिका लागि अहिले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तारमा एडिबीले करिब तीन अर्ब रुपियाँ अनुदान उपलब्ध गराउने समझदारी भएको आयोजना निर्देशक ढकालले जानकारी दिनुभयो ।
टिकौली जङ्गलमा बन्ने ‘फ्लाइओभर’ पुलले चितवनमा नयाँ पर्यटकीय क्षेत्रको विकास हुने क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी सुमन घिमिरेको भनाइ छ । चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यो पुलले नयाँ अनुभव दिनेमा आफू विश्वस्त भएको उहाँले बताउनुभयो । पर्यटनविज्ञ डा. विश्व सुवेदीले टिकौली जङ्गलमा बन्ने ‘फ्लाइओभर’ ले जनावरलाई सुरक्षित बनाउने मात्र होइन, चितवनको आर्थिक विकासमा योगदनसमेत दिने बताउनुभयो ।