• ९ मंसिर २०८२, मङ्गलबार

नवलपरासीमा छ हजारभन्दा बढी नयाँ मतदाता थपिए

blog

जिल्ला निर्वाचन कार्यालय परासी । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, मङ्सिर ८ गते ।
पश्चिम नवलपरासीमा आसन्न निर्वाचनका लागि छ हजारभन्दा बढी मतदाता थपिएका छन् । असोज १० देखि मङ्सिर ५ गतेसम्म भएको मतदाता नामावली सङ्कलनमा जिल्ला निर्वाचन कार्यालय परासीमा प्रत्यक्ष उपस्थित भएर ६ हजार १४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जसमध्ये तीन हजार २३५ पुरुष, दुई हजार ९०४ महिला र एक जना अन्य छन् । यसैगरी, अद्यावधिक विवरण एक सय ५६ जनाले सच्याएका छन् भने चार सय ६४ जनाले ठाउँ सारी गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी करण चौहानले जानकारी दिनुभयो ।

यसैगरी, राष्ट्रिय परिचय पत्रमार्फत अनलाइनबाट कुल पाँच हजार ३८० जनाले मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिएका छन् । अनलाइनमा प्राप्त विवरण रुजु गर्ने काम भइरहेको चौहानले बताउनुभयो । ‘‘प्राप्त आवेदनमध्ये आधा जति प्रमाणित भइसकेको छ, कतिपय विवरण नमिल्दा स्वीकृत हुन सकेको छैन, केही दिन भित्र पूरा विवरण प्राप्त हुन्छ ।’’ चौहानले भन्नुभयो । अनलाइन आवेदन समेत स्वीकृत हुँदा जिल्लामा दस हजारभन्दा बढी नयाँ मतदाता थपिने छन् ।