• ९ मंसिर २०८२, मङ्गलबार

लोप हुँदै पानीघट्ट

blog

वासुलिङ समाचारदाता

वासुलिङ (बैतडी), मङ्सिर ९ गते । सुदूर पहाडका खोलानालामा एक समय छ्यापछ्याप्ती देखिने पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत् आधारित पिसाइ मेसिनले गर्दा र परम्परागत सिपप्रतिको उदासीनताले पानीघट्टको अस्तित्व सङ्कटमा परेको हो ।

बैतडीसहित सुदूरका अधिकांश पहाडी जिल्लामा गाउँ गाउँका सामूहिक र एकल पहलबाट पानीघट्ट बनाइन्थे । यातायात, बिजुली र आधुनिक सुविधा नपुगेका बस्तीमा घट्ट केवल एउटा प्रविधि मात्र थिएन, त्यो जीवनको पहिचान पनि थियो । गहुँ, मकै, जौ, कोदो जस्ता अन्नको पिसाइदेखि दैनिक खानपानको सम्झनासम्म, पानीघट्ट गाउँको विशेष चिनारी जस्तै मानिन्थ्यो तर हाल आएर घट्ट देख्नै मुस्किल भएको छ । एकै खोलामा केही दुरीमै देखिने पानीघट्ट अहिले खोज्दै हिँड्नुपर्ने अवस्थामा पुगेको सुर्नया गाउँपालिका–२ का कृष्णबहादुर विष्टले बताउनुभयो ।

अघिल्लो पुस्ताले बनाएका घट्ट भेट्टाउन मुस्किल छ । मेरै बाबाले पनि यही खोलामा दुई/दुई वटासम्म पानीघट्ट बनाउनुभएको विष्टले बताउनुभयो । हाल आएर बजार क्षेत्रमा छ्यापछ्याप्ती विद्युतीय आटा मिल खुल्दै जाँदा परम्परागत घट्ट ओझेलमा परेका स्थानीय प्रेमबहादुर चन्दले बताउनुभयो । यद्यपि सबैको भरोसा भने अहिले विद्युतीय आधुनिक चक्की खोलिए पनि घट्टको पिठोको स्वाद नै फरक हुने गरेको चन्दले सुनाउनुभयो । यस्तै सुर्नयाकै प्रमल भुल अझै पनि आफ्नै पानीघट्ट जोगाएर बस्नुभएको छ । उहाँ भन्नुहुन्छ, “आधुनिक मिलले उत्पन्न गर्ने तातोपनाले पिठोको स्वाद मार्ने गरेको छ । घट्टबाट पिसिएको पिठो चिसो र स्वाभाविक हुन्छ, रोटी मिठो बन्छ ।”

यस्तै अर्का स्थानीय वीरसिंह साउदले पानीघट्ट केवल प्रविधि होइन, स्वादको इतिहाससँगै गरिबीको आयआर्जनसँग जोडिएको कथा पनि हो, मिलको पिठो तातो भएर जलेको जस्तो हुन्छ । घट्टको पिठोबाट बनेको रोटीको गन्ध र स्वाद नै फरक हुन्छ । परम्परागत सिप बचाउन बर्साैंदेखि लागेका सुर्नयाका जयन्त भट्टले स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हिजोआज घट्ट सबै बाँझा भइसके । मैले धेरै सङ्घर्ष गरेर मात्रै यो पुरानोप्रविधिलाई जोगाइरहेको छु ।”