अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर ९ गते । पारिवारिक मेहनतले अघि बढेको धौलागिरी डेरीले पछिल्लो २३ वर्षदेखि म्याग्दी सदरमुकाममा एकछत्र राज गरेको छ । बेनी नगरपालिका–७ न्यूरोडमा रहेको धौलागिरी डेरी उद्योगको एकछत्र बजार हिस्सा आफ्नैमा रहेको छ । वि.सं. २०५९ असार १० गतेदेखि निरन्तर सेवा दिँदै आएको धौलागिरी डेरी उद्योग म्याग्दीको स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने उत्कृष्ट उद्यमशीलताको उदाहरण बनेको छ । सामान्य लगानी र सीमित स्रोत साधन सहित सुरु गरिएको डेरी उद्योग परिवारकै समर्पण र निरन्तर मेहनतका कारण स्थायी र सुदृढ व्यवसायको रूपमा उभिएको छ ।
वीरेन्द्र ढुंगानाले परिवारकै सक्रिय सहभागितामा सञ्चालन गर्दै आउनु भएको डेरीमा उहाँलाई ४० वर्षीया श्रीमती, १७ वर्षका छोरा, १९ वर्षकी छोरी र एकजना स्थायी कामदारले साथ दिएका छन् । पाँच जनाको संयुक्त परिश्रम जोडिएको व्यवसायले म्याग्दी सदरमुकाम मात्रै नभएर हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दी जिल्लाका ग्रामिण भेक सम्म दुध पठाउने गर्नुहुन्छ । बिहानैदेखि रातिसम्म दुध सङ्कलन, प्रशोधन, परिकार निर्माण र वितरणमा सबै सदस्यको छुट्टाछुट्टै भूमिका हुने ढुंगानाको भनाइ छ ।
ढुंगानाका अनुसार, “परिवारकै भरोसा, समयमै काम र गुणस्तर कायम गर्नु नै डेरी टिकाउनुको मुख्य कारण हो ।” परिवारकै सदस्यहरुको मेहनतले गर्दा यहाँ हामीले आफ्नो गुणस्तर कायम गर्न सकेका छौं । उहाँ भन्नुहुन्छ, ‘‘दैनिक एक हजार पाँच सय लिटरसम्म दुध सङ्कलन हुने गरेको छ । स्थानीय किसानले घर–घरमा बिहानको पहिलो घाम झुल्किनु अघि नै डेरीमा दुध बठाउने भाँडाकुँडाका आवाज निकाल्छन् । उद्योगले दैनिक एक हजार देखि एक हजार पाँच सय लिटर सम्म दुध सङ्कलन गर्छ । दुध सङ्कलनमा स्थानीय गोठाला, किसान र महिला समूहहरूको ठुलो मेहनत र योगदान रहेको छ ।

सङ्कलित दुधको ठुलो भाग बेनी बजारमा खपत हुने गरेको छ । बेनी बजारका साथै पर्यटन र व्यापारिक गतिविधि हुने मुस्ताङमा दैनिक सयदेखि तीन सय लिटर दुध पठाइने गरीन्छ । मुस्ताङ पठाउने दुधको खासै एकीन हुँदैन तर थोरैमा सय लिटर चाँही पक्का छ विरेन्द्रले भन्नुभयो ।
धौलागिरी डेरी उद्योगले गुणस्तरलाई प्राथमिकतामा राख्दै दुधको फ्याट ५, एसएनएफ ८ कायम राखेर बिक्री हुने दुधमा पानीको मात्र भने शुन्य गरेरै बिक्री गर्दै आएको छ । यति गुणस्तरको दुध प्रतिलिटर एक सय २० रुपियाँमा बिक्री हुन्छ । बजारमा गुणस्तरप्रति विश्वास बढ्दै गएपछि डेरीका अन्य परिकारको पनि माग समानान्तर रूपमा बढिरहेको छ ।
धौलागिरी डेरीले घ्यू, पनीर, कुराउनी, दही, छुर्पी, आइसक्रिमलगायतका दुधजन्य सामग्री समेत उत्पादन गर्ने गरेको छ । धौलागिरी डेरीमा उत्पादित छुर्पी, कुराउनी तथा पनिर लगायतका बस्तुको बजारमा माग उच्च रहेको छ । डेरीमा उत्पादित सामग्रीहरुले म्याग्दी र मुस्ताङमा छुट्टै पहिचान कायम गरिसकेका छन् । विशेषगरी बेनी बजारका होटल तथा पर्यटन क्षेत्रका व्यवसायीहरू धौलागिरी डेरीका परिकारमा भर पर्छन् । स्थानीय उपभोक्ताले पनि “गुणस्तरीय, ताजा र विश्वासिलो” भन्दै प्रशंसा गर्ने गरेका छन् । दुधको बढी माग हुने चाडपर्वहरुमा दुधको मुख्य माग धान्ने भनेकै धौलागिरी डेरी रहेको म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बेलबहादुर कटुवाल बताउनुहुन्छ ।
परिवारकै व्यवस्थापन, स्थानीय कच्चा पदार्थको सहज उपलब्धता र बजारको स्थिर मागका कारण डेरी उद्योग आर्थिक रूपमा पनि मजबुत बन्दै गएको छ । डेरीकै आम्दानीबाट घर खरिद गर्नुभएका ढुंगानाले सबै खर्च कटाएर मासिक दुई देखि तीन लाख रुपियाँसम्म बचत हुने सुनाउनुहुन्छ ।
समयमै तौल, सही मूल्य, गुणस्तरको ग्यारेन्टी र बजारको स्थिरता जस्ता कारणले धौलागिरी डेरी स्थानीयस्तरको भरपर्दो डेरीको रूपमा स्थापित भएको बेनी नगरपालिका ४ सिंगाका डण्डपाणी पौडेलले बताउनुभयो ।