रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर ९ गते । जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक (साउन–कात्तिक)मा एक सय ७४ मुद्दाको फैसला भएको छ । मुद्दा फैसलाको आँकडाले अदालतमा सुधारको सङ्केत गर्नुका साथै चालु आर्थिक वर्षको लक्ष्य सहज रुपमा प्राप्त गर्ने देखिन्छ ।
अदालतको चुस्त व्यवस्थापन र बार एशोसिएसनको सक्रिय सहयोगका कारण मुद्दा फैसला लगायतका क्रियाकलापमा सहजीकरण हुँदा चौमासिकमा एक सय ७४ मुद्दाको फैसला भएको स्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार, अदालतमा गत वर्ष जिम्मेवारी सरेर आएका दुई सय ५१ थान मुद्दा र चालु आर्थिक वर्षको चार महिनामा अदालतमा दर्ता भएका दुई सय एक गरी चार सय ५२ थान मुद्दा थिए ।
चालु वर्ष अदालतमा कुल नौ सय १४ मुद्दा पर्ने अनुमान छ । अदालतले ६६ प्रतिशत अर्थात् ६ सय ३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको छ । पहिलो चौमासिकमा एक सय ७४ मुद्दा फर्छ्यौट भएकोले आगामी दिनमा सहजै लक्ष्यमा पुग्ने देखिएको अर्यालको भनाइ छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा अदालतले छ सय ६६ मुद्दा फर्छ्यौट गरेको थियो । अघिल्लो वर्ष नौ सय १८ मुद्दा रहेकोमा छ सय ४८ वटा फर्छ्यौट भएका थिए । पछिल्लो वर्ष मुद्दा फर्छ्यौट सङ्ख्या १८ थानले बढी थियो । अघिल्लो वर्ष पनि नौ सय १७ मुद्दाको लक्ष्य थियो । अदालतले दुई वर्ष काटेका मुद्दा राख्नै नपाउने नीतिगत व्यवस्था गरेपछि १८ महिना अघिदेखि नै फर्छ्यौट हुने क्रम बढेको हो । अदालतमा विविध कारणले शिवशिखर सहकारीको मात्र दुई वर्ष काटेको मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
अदालतमा विशेषगरी सम्बन्ध विच्छेदका मुद्दाहरु धेरै आउने गरेका छन् । त्यस बाहेक अंश मानचामल, बैवाहिक सम्बन्ध अन्त्य मुद्दा बढी छन् । फौजदारीतर्फ जबरजस्ती करणीका मुद्दाको बढिरहेका छन् । लेनदेन, चेक अनादर र बैंकिङ कसुरका मुद्दा समेत अदालतमा बढीरहेका छन् । ‘‘केही वर्ष अघिसम्म धेरै आउने लागुऔषध सम्बन्धी मुद्दा पछिल्ला वर्ष भने कम हुँदै गएका छन्’’ स्रेस्तेदार अर्यालले भन्नुभयो ।
अदालत र उच्च अदालत बार एसोसिएसनबिचको अन्तरक्रियामा बोल्दै जिल्ला न्यायाधिस सीता शर्मा अधिकारीले नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नका लागि बार बेञ्च सहकार्य आवश्यक भएको बताउनुभयो । ‘‘अदालतले सुधार गर्नुपर्ने धेरै विषयलाई बारले औल्यायो भने नागरिकले समयमा न्याय पाउँछन् ।’’ अधिकारीले भन्नुभयो ।
दुई वर्षदेखि जिल्ला अदालतले स्वचालित पेशी सुरु गरेको छ । यसअघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीले तारेख, पेशी लगायतका सबै क्रियाकलापमा समय तोक्ने गरेका थिए । यो पद्धतीले हरेक दिन कति मुद्दा हेर्ने, ती मुद्दा कुन इजलासमा राख्ने र कुन समयमा रहने भन्ने स्वचालितले तोक्ने छ । तर हाल दैनिक १५ वटासम्म मुद्दा हेर्दा अत्याधिक चाप बढेकाले केही कम गरेर लक्ष्यमा पुग्न सकिने वरिष्ठ अधिवक्ताहरुको सुझाव छ ।
चालु वर्षको पहिलो चौमासिकमा दुई सय हाराहारी मुद्दा फर्छ्यौट भएकोले आगामी दिनमा त्यो लक्ष्य सहजै पुग्ने अवस्था देखिएको उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष गीता श्रीषले बताउनुभयो । अदालतमा पछिल्लो व्यवस्थापकीय काममा सुधार भइरहेकाले सहज रुपमा मुद्दा हेर्ने वातावरण बन्दै गएको श्रीसको भनाइ थियो ।