• ९ मंसिर २०८२, मङ्गलबार

बिपी पार्क खेल मैदानमा फोर्टिन स्टार जिल्ला स्तरीय छात्र फुटबल हुने

blog

छैठौँ संस्करण फोर्टिन स्टार फुटवल हुने बिपी पार्क । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा(गुल्मी), मङ्सिर ९ गते ।
गुल्मीमा छैठौं संस्करणको रुपमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा आगामी पुस १ गतेदेखि जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता हुने भएको छ ।

इस्मा गाउँपालिका –१ झरनास्थित बिपी पार्कको खेलमैदानमा पुस १ देखि ५ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा बिजेताले नगद ३५ हजार र उपबिजेताले नगद २५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसका साथै विधागत  उत्कृष्ट पुरस्कारका ट्रफीहरु पनि प्रदान गरिने क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो । 

गत वर्षको प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाएका थिए । जसमा रेसुङ्गा नगरपालिका–५ स्थित जनसहयोग माविले उपाधि कब्जा गरेको थियो । पहिलो, दोस्रो र तेस्रो संस्करणमा महेन्द्र मावि बिजेता बनेको थियो । चौथो संस्करणमा अर्जे माविले उपाधी आफ्नो पोल्टामा पारेर फुटवलको संभावना गाउँमा पनि रहेको पुष्टी गरेको थियो । परिणामस्वरुप पाँचौं संस्करणको उपाधी पनि जनसहयोगले सदरमुकामबाट हुत्याइदिएको थियो । पहिलो र दोस्रो संस्करणमा रिर्डस पब्लिक हाइस्कुल, तेस्रोमा अर्जे मावि र चौथो तथा पाँचौं संस्करणमा महेन्द्र मावि उपबिजेता बनेको थियो ।

२०६७ सालमा स्थापना भएको क्लबले २०७४ बाट प्रत्येक वर्ष छात्र फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । कोभिड सङ्क्रमणको कारण दुई वर्ष प्रतियोगिता सञ्चालन हुन नसकेपनि त्यसपछिका वर्षहरुमा भने निरन्तर रुपमा प्रतियोगिता भइरहेको छ । बिद्यालय जीवनमै फुटबल खेलमा रुची भएर अवसरको खोजीमा रहेका खेलाडीहरुको पहिचान गर्न प्रतियोगीता निकै फलदायी भएको आचार्यले बताउनुभयो ।

विगतका पाँच वटा संस्करणहरु चिदिचौर खेलमैदानमा सञ्चालन भए पनि यो वर्ष चिदिचौर पुनर्निर्माणको काम चलिरहेकोले प्रतियोगिता बिपी पार्कमा लैजान पर्ने अवस्था आएको क्लबले जनाएको छ । इस्मा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा पाँच लाखको लागतबाट झरनामा बिपि पार्क क्रिकेट स्टेडियम बनाउन सुरु गरेको थियो । क्रिकेट स्टेडियम बनाउन तयार गरिएको मैदानमा फुटबल प्रतियोगिता हुन लागेको हो ।

हालसम्म उक्त ग्राउन्डको लागि झण्डै तीन करोड खर्च भएको उपप्रमुख प्रवक्ता पार्वती कुँवरले बताउनुभयो । अहिले उक्त पार्कमा गार्डेन, शौचालय लगायतका संरचना बनेका छन् । चालु आर्थिक वर्षमा मैदानका लागि तीन करोडको बजेट परेपनि मन्त्रालयबाट ढिला ठेक्का हुँदा काममा अन्यौल भएको कुँवरले बताउनुभयो ।