• ९ मंसिर २०८२, मङ्गलबार

तेन्जिङको कागजात नक्कली

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर ९ गते । गत भदौ २३­–३४ गते नवयुवा (जेनजी) प्रदर्शनमा घुसपैठ गरी भिडलाई उत्तेजित बनाउने नियतले ठुलो आवाजमा बुलेट बाइक पड्काउँदै चलाउने समूहका मुख्य आरोपी तेन्जिङ दावा लामाको नेपाली नागरिकता र पासपोर्टलगायतका कागजपत्र नै नक्कली भेटिएको छ । 

दाबाले खडा गरेको तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) समूहका झन्डै ३० जना व्यक्तिका गतिविधि शङ्कास्पद देखिएपछि काठमाडौँ जिल्ला प्रहरीपरिसरले गत असोज २६ गते दावा लामासहित केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । परिसरले सोमबार पत्रकार सम्मेलन गरी हिरासतमा रहेका टिओबी समूहका मुख्य आरोपी तेन्जिङ दावा लामाको जन्मदर्ता, नेपाली नागरिकता, राहदानी र शैक्षिक प्रमाणपत्रलगायतका सबै कागजपत्र नक्कली रहेको जनाएको छ ।

परिसरका प्रमुख रमेश थापाले तेन्जिङबाट बरामद गरिएका कागजपत्र जारी गर्ने निकायबाट पुनः प्रमाणीकरण हुन नसकेको बताउनुभयो । थापाले भन्नुभयो, “आरोपितका सबै नेपाली कागजपत्रको अनुसन्धान गर्दा पुष्टि हुन सकेन । त्यसैले नक्कली नागरिकताको कसुर, नक्कली राहदानीको कसुर, अभद्र व्यवहारको कसुर तथा लागुऔषधको कसुरमा थप अनुसन्धान गरिरहेका छौँ ।”   

प्रहरीका अनुसार दावाको नागरिकतामा हजुरबुवाको नाम तेन्जिङ लामा र बुवा कृष्णबहादुर लामा रहेको पाइएको छ । नेपाली नागरिकतालगायतका कागजपत्र लिन दावाले नक्कली बावुआमा खडा गरी काठमाडौँ–६, बौद्धबाट २०६३ चैत १० जन्मदर्तामा जन्म मिति २०५३ मा बौद्धमा जन्मेको उल्लेख गरिएको छ । सोही जन्मदर्ताका आधारमा तेन्जिङले २०७९ असार २४ मा काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र राहदानीसमेत लिएको खुलेको छ । बावुआमा दुवैको मृत्यु भएको र आफू परिवारका आफन्तको शरणमा हुर्केको भनी तेन्जिङले दिएको विवरणसमेत पुष्टि हुन सकेको छैन । जेनजी आन्दोलनमा तेन्जिङलगायत २० जना युवाले चर्को आवाजमा पड्किने गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । ती बाइकमा पनि टिओबी लेखिएका स्टिकर फेला परेको छ । 

टिओबीको स्थापना सन् २०२४ को जुन १० मा भएको र संस्थापक अध्यक्ष तेन्जिङ लामा रहेको खुलेको छ । लामाले सन् २०१७ देखि बौद्धको फूलबारी कम्प्लेक्समा टिओबी नाममा ट्याटु हाउस सञ्चालन गरेको र त्यसमार्फत बुलेट बाइक राइडर्स ग्रुप तयार पारेको पाइएको छ । टिओबी समूहमा हालसम्म ५७ जना युवा जोडिएको भए पनि सबैलाई यो टिओबीबारे सबै जानकारी नरहेको र आधा मात्र सक्रिय रहेको पाइएको छ । कतिपय युवा बाइक राइडर्सको समूहका रूपमा विभिन्न नयाँ स्थानमा घुम्न जाने समूहका रूपमा जोडिएको पाइएको छ । यो समूहमा अहिले पनि २५ जना सक्रिय रहेको प्रहरीले जनाएको छ । भदौ २३ को आन्दोलनमा ३१ जना र २० वटा मोटरसाइकल प्रयोग भएको खुलेको छ । एक भिडियोमा टिओबी लेखिएको ज्याकेट लगाएका युवाले पेस्तोल बोकेको दृश्य भने केही समयअघिको रहेको र उक्त पेस्तोलसमेत नक्कली रहेको पाइएको प्रहरीले जनाएको छ ।