• ७ जेठ २०८१, सोमबार

सन्दीपले सीपीएल र एलपीएल खेल्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २३ गते ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने पछिल्ला दुई दिनमा दुई विदेशी फ्रेन्चाई लिगमा आबद्ध हुनुभएको छ । यस सत्रको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीपले जमैका तालाबाजको जर्सीमा खेल्ने हुनुभएको छ । जमैकाले बुधबार सन्दीपलाई आफ्नो टिममा भिœयाएको खुलासा गरेको हो । एक दिनअघि श्रीलङ्कामा जुलाई अन्तिममा आयोजना हुने लङ्का प्रिमियर लिग (एलपीएल)मा खेल्न दाम्बुला जायन्ट्सले सन्दीपलाई आफ्नो टिममा भिœयाएको थियो ।

सन्दीप विश्वकै व्यावसायिक टी–२० क्रिकेट लिगमा रुचाइएका क्रिकेटर हुनुहुन्छ । उहाँ भारत, पाकिस्तान, अस्ट्रेलिया, क्यानडा, हङकङ, यूएई र वेस्ट इन्डिजको व्यावसायिक फ्रेन्चाई लिगमा नियमित रूपमा खेल्ने क्रिकेटर हुनुहुन्छ । अब यसबीच उहाँको नाम श्रीलङ्काली फ्रेन्चाई क्रिकेट लिगमा खेल्ने खेलाडीका रूपमा पनि जोडिएको छ ।

सन्दीपले सन् २०२० मा भएको सीपीएल टी–२० पनि जमैकाबाट खेल्नुभएको थियो । सन्दीपले पछिल्लो संस्करणमा भने सहभागिता जनाउनुभएन जमैका तालावाजले सन्दीपसहित पाकिस्तानका तेज बलर मोहम्मद आमिर, स्पिनर इमाद वासिम, अस्ट्रेलियाका क्रिस ग्रिन र मिगेल प्रेस्टोरियसलाई विदेशी खेलाडीका रूपमा आफ्नो टिममा आबद्ध गरेको छ । सीपीएलको दसौँ संस्करण सेन्ट किट्स एन्ड नेभिसमा अगस्ट ३० देखि सेप्टेम्बर ३० तारिखसम्म हुनेछ ।

सन्दीप श्रीलङ्कामा लङ्का प्रिमियर लिग खेलेपछि सीपीएल खेल्न वेस्ट इन्डिज जाने बताइएको छ । सीपीएलमा सन्दीप र जमैकाबीचको करार रकम भने खुलाइएको छैन । सन् २०२० मा जमैकाले सन्दीपलाई ९० हजार डलर तिरेको थियो ।

सन्दीपले सीपीएल खेल्नुअघि जुलाई ३१ देखि अगस्ट २१ सम्म लङ्का प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नुहुनेछ । लङ्का प्रिमियर लिगमा दाम्बुलाले सन्दीपलाई ड्राफ्टमा ४० हजार अमेरिकी डलर तिरेको हो । सन्दीप अन्तर्राष्ट्रिय डायमन्ड क्याटेगरीमा ड्राफ्टमा समावेश हुनुहुन्थ्यो । सन्दीपको टिम दाम्बुला जायन्ट्समा अस्ट्रेलियाका डार्सी सर्ट, भानुका राजपक्ष, दासुन सानका, टिम सिफर्ट, हैदर अली, सेल्डन कट्रेलजस्ता क्रिकेटर पनि हुनुहुन्छ ।