नागेन्द्रकुमार कर्ण
महोत्तरी, मङ्सिर ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
उहाँले अस्पतालमा पुगेर इमरजेन्सी तथा भर्ना भएका बिरामीहरुसहित सम्पूर्ण अस्पतालको अनुगमन गर्नुका साथै अस्पतालबारे जानकारी लिनुभएको थियो । मुख्यमन्त्री यादवलाई प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झा तथा अस्पतालका निमित्त कार्यालय प्रमुख डा.विकासकुमार साहले अस्पतालमा जनशक्ति अभावसहित अस्पतालको बारेमा जानकारी दिनुभएको थियो ।
अनुगमन तथा निरीक्षणपश्चात् सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले विशेषज्ञ चिकित्सक अभावमा बिरामीहरु रेफर भइरहेको बताउनुहुँदै यस अस्पतालमा कुन कुन चिकित्सक तथा जनशक्तिको अभाव छ त्यो बारे पठाउन अस्पतालको प्रमुखलाई निर्देशन दिएको बताउनुभयो । उहाँले अस्पतालका निमित्त कार्यालय प्रमुखलाई भन्नुभयो, ‘कुन कुन चिकित्सकहरुको अभाव छ, त्यो जानकारी र मागसहितको पत्र आजै मन्त्रालयमा पठाउनुस्, हामीबाट हुन सक्ने चिकित्सक पठाइदिन्छौं ।’
मुख्यमन्त्रीले अदालतले आफूलाई दीर्घकालीन असर पर्ने निर्णयहरु नगर्न भनेकोले अस्पताललाई दीर्घकालीन समस्या समाधानका लागि काम गर्न असहज रहेकोमा जोड दिनुहुँदै भन्नुभयो,‘दैनिक रुपमा वबिरामीहरुलाई उपचारमा कुनै समस्या छ भने मलाई जानकारी आयो भने म तुरुन्त एक्सन लिन्छु ।’
जनकपुरमा आयोजित वार्षिक समीक्षा गोष्ठीमा यो अस्पताल दोस्राे भएको बताउनुहुँदै अस्पतालमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयाे । अनुगमनको क्रममा उहाँले उपचारमा रहेका बिरामीहरुसँग समेत अस्पतालको सेवाबारे जानकारी लिनुभएको हाे ।