• ८ मंसिर २०८२, सोमबार

गोरखामा थपिए सात हजारभन्दा बढी मतदाता

blog

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर ८ गते ।
आगमी निर्वाचनलाई ध्यानमा राख्दै गोरखा जिल्लामा मतदाता नामवाली दर्ता गर्नेको सङ्ख्या उल्लेखनीय रुपमा बढेको छ । असोज ९ गतेबाट सुरु भएको मतदाता नामवालीमा दर्ता गर्ने अन्तिम दिन मङ्सिर ५ गते शुक्रबारसम्म उक्त सङ्ख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी फागुन २१ ग्ते प्रतिनिधि सदस्यको निर्वाचन गर्ने गरी तोकेसँगै मङ्सिर ५ गते शुक्रबारसम्म आइपुग्दा गोरखामा कुल सात हजार ८७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

‘‘दर्ता प्रक्रियामा युवादेखि वृद्धसम्मको सक्रिया सहभागिता देखिएको छ,’’ कार्यालय प्रमुख टेकबहादुर कोइरालाले भन्नुभयो, ‘‘फोटोसहितको नामवली दर्ता गराउनेको सङ्ख्या एक हजार ५५० रहेकोमध्ये  जसमा ९०८ पुरुष र ५९४ महिला छन् ।’’

त्यस्तै ६ हजार २३५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत नामवाली दर्ता गराएका छन् भने यस अघिको  निर्वाचनपछि र नयाँ दर्ता भएको समेत गरी गोरखामा मतदाताको सङ्ख्या दुई लाख २९ हजार ७६६ पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।  

गोरखामा मतदाता बन्ने उमेर पुगेका युवाहरुको सहभागिता सर्वाधिक छ । विशेष गरी उच्च शिक्षा अध्ययनरत युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु तथा महिलाको उपस्थितिले मतदाता नामावली अद्यावद्यिक अभियानलाई उत्साहित बनाएको छ ।

गोरखामा मतदाताको सहभागिता विगत वर्षमा भन्दा उत्साहजनक छ । नागरिकहरु आफ्नो मतधिकारलाई जिम्मेवारीका रुपमा लिन थालेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

जिल्लामा हालसालै देखिएका विकास निर्माणकाा मुद्दा र स्थानीय शासनप्रति नागरिकको बढ्दो चासोले पनि मतदाताको सक्रियता बढाएको देखिन्छ । अहिलेका नागरिक अब आफ्नो मतले विकासको दिशा निर्धारण गर्छ भन्ने कुरामा बढी सजग बनेका कारण मतदाता नामवलीमा नाम लेखाउनको सङ्ख्या बढेको बताइएको छ ।

मतदाता नामवालीमा बढ्दो सहभागिताले गोरखामा हुने आगमी निर्वाचनलाई प्रतिस्पर्धात्मक, प्रभावकारी र समावेशी बनाउन सहयोग पुर्‍याउने देखिन्छ । लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन नागरिकहरु  उत्साहित हुँदै अघि सरिरहेको यस परिवर्तनलाई स्थानीय स्तरमा सकारात्मक विकासको रुपमा हेरिएको छ ।

नयाँ नामवलीमा नाम दर्ता भएकामध्ये अधिकांश किशोर जेनजी उमेर समूहका रहेका बताइएको छ । यस अघि प्रतिनिधि सभाको निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।