यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङमा आवश्यक तयारी तीव्र भइरहेको छ । निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम अद्यावधिकसँगै जिल्लामा मतदाता सङ्ख्या बढेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले पहिला मनाङमा छ हजार ८९३ जना मतदाता रहेका र पछिल्लो अद्यावधिकपछि जिल्लाभित्रैबाट १३५ जना नयाँ मतदाता थपिएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बाहिरी जिल्लाबाट आठ जनाले मनाङलाई मतदानस्थल तोकेर नामावलीमा समावेश भएका, ६३ जनाले ठाउँसारी (मतदान स्थल परिवर्तन) का लागि निवेदन दिएका र १० जनाले नामावलीका त्रुटि सच्याउन निवेदन दिएका छन् ।’’
निर्वाचन नजिकिँदै जाँदा मतदाता नामावली दुरुस्त र अद्यावधिक गर्ने कार्यले तीव्रता पाएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । कार्यालयले मतदातालाई समयमै विवरण मिलान गर्न र मतदानका लागि आवश्यक कागजात तयार राख्न आग्रह पनि गरेको छ ।
चारवटा गाउँपालिका रहेको मनाङमा एउटै मात्र निर्वाचन क्षेत्र छ । जिल्लागत रुपमा सबैभन्दा कम मतदाता रहेको जिल्ला भनेर मनाङलाई चिन्ने गरिन्छ ।