जीवछ यादव
लहान, मङ्सिर ८ गते । लहान नगरपालिकाले घर–घरको शान, लहानमा स्वच्छता अभियानको उद्घाटन शौचालय दिवसको अवसरमा सुरु गरेर यसको निरन्तता दुर्गम गाउँबाट सुरु गरेको छ ।
लहान नगरपालिकामा आठ वर्ष अघि २०७४ सालमा खुला दिसामुक्त घोषणा गरिए पनि १७ प्रतिशत खुला दिसा गरिरहेकाले पुनः स्वच्छता अभियान सुरु गर्नु परेको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले जानकारी दिनुभयो । उहाँको अनुसार लहान नगरपालिकामा स्वच्छता अभियानअन्तर्गत चार हजार २०१ शौचालय निर्माणका लागि लहान नगरपालिकाले तयारी गरिरहेको छ ।
लहान नगरप्रमुख महेशप्रसाद चौधरीले स्वच्छता अभियानको सुरुवात लहान नगरपालिका २४ नम्बर वडामा रहेको लेखनाथ माध्यमिक विद्यालयमा आयोजित भव्य स्वच्छता सभामा यस वडाका शिक्षक विद्यार्थी, समाजसेवी जनप्रतिनिधि र राजनीतिक दलहरु हाम्रो लहान स्वच्छ र सुन्दर लहानको सपना सकार गर्नका लागि यस स्वच्छता अभियानलाई सफल बनाउन हिजो आइतबार आग्रह गर्नुभयो ।
‘‘खुला दिसामुक्त लहान नगरपालिकामा १७ प्रतिशत नगरवासीहरु खुला दिसा गर्ने तथ्याङ्कले शौचालय निर्माण गरेर मात्रै भएन, यसको सदुपयोगका लागि स्वच्छतासम्बन्धी सैद्धान्तिक ज्ञानको अभाव छ । यस अभावको पूर्तिकका लागि सचेत नागरिकहरुले ध्यान दिन आवश्यक छ ।,’’ ,नगरप्रमुख चौधरीले भन्नुभयो, ‘‘यस वडाका शिक्षक र विद्यार्थीहरुको अहम भूमिकाको अपेक्षा लिएर दुर्गम र सबैभन्दा बढी जनसङ्ख्या विपन्न र दलित समुदाय रहेकाले स्वच्छता अभियानको निरन्तरताको क्रमाम यहाँबाट सुरुवात थालेका छौँ । यस वडामा निर्माण गर्नुपर्ने ५३८ शौचालय निर्माणका लागि लहान नगरपालिकाले विपन्न र दलित समुदायलाई आवश्यक सहयोग गर्छौ ।’’
स्वच्छता अभियानमा लहान वडा नम्बर २४ का जनप्रतिनिधि, शिक्षक विद्यार्थी नागरिक अगुवा दलित जनकल्याण युवा क्लवका सामाजिक सहजकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो ।