शेरबहादुर सार्की
बाजुरा, मङ्सिर ८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको दुर्गम क्षेत्रमा बसोबास गर्दै आएका यहाँका स्थानीयको जीवनस्तर परिवर्तन गर्नका लागि आफू सदैव लागि परेको बताउनुभयो ।
बाजुरा भम्रणको क्रममा हिमाली पुग्नुभएका मुख्यमन्त्री शाहले हिमाली गाउँपाकिाले आयोजना गरेको एक भेटघाट कार्यक्रममा यस्तो कुरा बताउनुभएको हो ।
हिमाली गाउँपालिका जिल्लाकै एक दुर्गम पालिका हो । यहाँका स्थानीयले लामो समय दुखी विभिन्न दुःख कष्ट पाउँदै आएका छन् । हामीले यहाँका स्थानीयलाई सहज हुने गरी सडकमा रकम विनियोजन गरेका थियौं ।
उहाँले भन्नुभयो, ‘‘त्यो सडकले पछिल्लो समय यहाँका स्थानीयलाई केही सुविधा प्राप्त भएको छ । अँझै पनि यहाँका स्थानीयका खानेपानी शिक्षा र स्वास्थ्य लगायतको सुविधाको अभाव छ । यसका लागि आफू यो पदमा रहुन्जेलसम्म लागिपर्नेछु । यहाँको कच्ची सडकलाई पक्की गर्ने गरी आफूले प्रदेशबाट रकम विनियोजन गर्न तयार छु ।’’
यहाँ केही योजना प्रदेशबाट सञ्चालन भएका छन् । ती योजनाले यहाँका स्थानीयलाई केही सहज बनाएको छ । अझैँ पनि यहाँका स्थानीयको चाहाना आवश्यकता पूरा गर्नका लागि आफू सधैँ प्रयासमा रहने औँल्याउनुभयो ।
यहाँका स्थानीयलाई अझै शिक्षा, स्वास्थ्य र खानेपानी निकै अभाव छ । उनीहरुलाई यस्तो अभाव नहुने गरी आफूले यहाँका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाउनेछु ।
यहाँका स्थानीयको जीवनस्तर परिवर्तन गर्नका लागि यहाँको स्थानीय प्रदेश र सङ्घीय सरकारसमेत लाग्नुपर्छ । हामी सबैको हातेमालोले यहाँका स्थानीयको जीवनस्तरमा परिवर्तन गर्नुपर्छ ।
उहाँले भन्नुभयो, ‘‘यो ठाउँ जडीबुटीको पनि मुख्य स्रोत हो । यसलाई राम्रोसँग सदुपयोग गरी आगामी दिनमा बजेट व्यवस्था गर्नेछु । साथै यहाँका स्थानीयको मुख्य पेशा भेडाबाख्रा पालन हो । हामी यसलाई थप व्यवस्थित गर्ने गरी काम गर्छाैं ।’’
यहाँका स्थानीयको जीवन परिवर्तनका लागि आफूले केही काम गर्दै आएको र फेरि पनि उनीहरुको आर्थिक, शैक्षिक, स्वास्थ्य, खानेपानी पहुँचका लागि सधैँ लागिपर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो ।
साथै शाहले हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा निर्माण सम्पन्न भएको सुविधायुक्त स्वास्थ्यचौकी सञ्चालनका लागि चाहिने आवश्यक सामग्री उपलब्ध गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गर्नुभएको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका –६ धुलाचौरमा सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माण गरिएको छ । तर त्यहाँ सुविधायुक्त स्वास्थ्य सञ्चालन गर्नका लागि आवश्यक सामग्रीको अभाव छ ।
यही अवस्थालाई दृष्टिगत गर्दै शाहले यो सुविधायुक्त स्वास्थ्यचौकी सञ्चालन गर्नका लागि यहाँ चाहिने आवश्यक सामग्री उपलब्ध गर्नका लागि तयार गरेको मन्त्री शाहले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा पालिका र सङ्घीय सकारको दुई करोडभन्दा बढी लगानीमा तीनतले स्वास्थ्य भवन निर्माण गरिएको छ । यो भवनको २०८२ असारमा मसान्तसम्म निर्माणको काम सम्पन्न गरिएको थियो ।
भम्रणका लागि बाजुरा पुग्नुभएका मन्त्री शाहलाई यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत भौतिक पूर्वाधार निर्माणका लागि ज्ञापन पत्र बुझाएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उसो त यहाँका समग्र विकासका लागि धेरै पटक प्रदेशमा गएर नै भन्ने गरेको थिएँ । तर शाह आज हिमाली गाउँमालिकामै आएपछि फेरि पनि हामीले यहाँका समस्याहरुलाई पूरा गर्नका लागि ज्ञापन बुझाएका छौँ ।”
हामीले दिएको माग अनुसार मन्त्री शाहले पनि आफू यसका लागि निकै सक्रिय भएर काम गर्ने गर्ने प्रतिबद्धता जनाएर जानुभएको अध्यक्ष मल्लले बताउनुभयो । मन्त्री शाहले हिजै बाजुराको दानसाँगु खोलामा निर्माण हुन लागेको पक्की पुलको समेत उद्घाटन गर्नुभएको थियो ।