सुर्खेत समाचारदाता
सुर्खेत, मङ्सिर ८ गते । कर्णाली प्रदेशमा हुलाक सेवालाई छिटोछरितो, भरपर्दो र व्यवस्थित बनाई प्रभावकारी सेवा प्रवाह गर्न हुलाक निर्देशनालय सुर्खेतले निर्देशनालय अन्तर्गतका भेरी कोरिडोरमा रहेका हुलाक कार्यालयको अनुमगन गरेको छ ।
भेरी कोरिडोरमा पर्ने जाजरकोट, डोल्पा, रुकुमपश्चिम तथा सल्यान जिल्ला हुलाक कार्यालय र ती जिल्लास्थित स्थानीय तहमा रहेका हुलाक कार्यालयको हालै अनुगमन तथा निरीक्षण गरिएको हो । जाजरकोट जिल्ला हुलाक कार्यालयको अनुगमन गर्ने क्रममा जिल्ला हुलाक कार्यालय जाजरकोट, स्थानीय हुलाक नलगाड नगरपालिका, दल्ली र सटही काउन्टर शिवालय गाउँपालिका छेडागाडको स्थलगत अनुगमन गरिएको थियो ।
यस्तै भूकम्पबाट क्षति भई पुनर्निर्माणका क्रममा रहेको जिल्ला हुलाक कार्यालय जाजरकोटको कार्यालय भवनको अनुगमनसमेत गरिएको हुलाक निर्देशनालयका निर्देशक गोविन्द पाण्डेले बताउनुभयो ।
डोल्पाका हुलाकहरूको अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय डोल्पा र हुलाक कार्यालय त्रिपुरासुन्दरी नगरपालिका तथा जिल्ला हुलाक कार्यालय रुकुमपश्चिम र अन्तर्गतका हुलाक कार्यालय आठबिसकोट नगरपालिका राडीजिउला, हुलाक कार्यालय सानीभेरी गाउँपालिका सिम्ली, हुलाक कार्यालय चौरजहारी नगरपालिकाको सेवा प्रवाह, कार्यालयको भौतिक संरचना डाँकरेखा र जनशक्तिको अवस्थाबारे स्थलगत अनुगमन तथा छलफल गरिएको निर्देशनालयले जनाएको छ ।
यस्तै सल्यानका हुलाक कार्यालयहरूको अनुगमन तथा निरीक्षणका क्रममा जिल्ला हुलाक कार्यालय सल्यान र अन हुलाक कार्यालय वनगाढ कुपिन्डे नगरपालिका देवस्थल (सल्लीबजार), हुलाक कार्यालय कुमाख गाउँपालिका रागेचौर, हुलाक कार्यालय सिद्धकुमाख गाउँपालिका ढौरचौर र हुलाक कार्यालय बागचौर नगरपालिकाको समेत अनुगमन तथा निरीक्षण गर्नुसाथै जिल्ला हुलाक कार्यालय रुकुमपूर्व रुकुमकोटमा डाँक आदानप्रदानका विषयमा समन्वय तथा छलफल गरिएको थियो ।
अनुगमनका क्रममा हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमिलाई जीवन्त राख्दै विश्वजगत्ले वर्तमान समयमा विकास गरेको सूचना प्रविधिलाई हुलाक सेवामा भित्र्याउन आवश्यक पर्ने पूर्वाधारबारे छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो भने कार्यालयहरूको जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधनको अवस्था, भवनको अवस्था, सेवा प्रवाह, जनगुनासो, डाँक ढुवानी, सरकारी तथा गैरसरकारी निकायसँगको समन्वयका विषयमा अनुगमन चेकजाँच तथा अन्तर्क्रियासमेत भएको छ ।
छलफलबाट प्राप्त रायसुझाव र निष्कर्षलाई आत्मसात् गर्दै टोलीले सम्बन्धित कार्यालयलाई हुलाक सेवा विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन दिएको छ । हुलाकप्रतिको जनविश्वास कायम राख्न, नागरिकसँग नजिक हुन तथा डाँक ढुवानी कार्यलाई व्यवस्थित गर्नसमेत सुझाव दिइएको अनुगमन टोलीमा हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले बताउनुभयो ।