लुम्बिनी प्रदेश ब्युरो
बुटवल, मङ्सिर ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै देशभर सञ्चालन भएको मतदाता नामावली दर्ता अभियानमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य सङ्ख्यामा नयाँ मतदाता थपिएका छन् । असोज ११ देखि मङ्सिर ५ गतेसम्म चलेको दर्ता अभियानले विशेष गरी युवाको सहभागिता बढेको देखिएको छ ।
बाँकेमा सोह्र हजार
बाँकेमा यो वर्ष १६ हजार ८११ नयाँ मतदाताले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार कार्यालयमा आएर दर्ता गराउने ११ हजार ७११ जनामध्ये पाँच हजार ८३७ पुरुष र पाँच हजार ८७४ महिला छन् । राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइन दर्ता गराउने पाँच हजार एक सय जनाको विवरण छुट्याउने काम भइरहेको छ ।
शाहीले नयाँ मतदाता दर्तामा युवाको सहभागिता अत्यधिक रहेको बताउनुभयो । १८ देखि २५ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता समय मङ्सिर ५ गतेसम्म बढाइएको भए पनि अझै नाम छुट्ने सम्भावना रहेको कार्यालयले जनाएको छ । २०७९ सालमा बाँके जिल्लामा तीन लाख ३३ हजार ९३४ मतदाता रहेका थिए । यस वर्ष नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाट धेरै युवा दर्ता भएको उल्लेख छ ।
पाल्पामा छ हजारभन्दा बढी
पाल्पामा छ हजार ८८७ जनाले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका नासु विनोद घिमिरेका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा चार हजार ३२५ जनाले नाम दर्ता गराएका छन् । कार्यालयमा आएर दर्ता गराउने एक हजार ८२७ जनामध्ये एक हजार १७ पुरुष र ८१० महिला छन् । अन्य जिल्लाबाट पाल्पा स्थानान्तरण हुने ६३५ जनामध्ये २५९ पुरुष र ३७६ महिला रहेका छन् ।
बाहिरी जिल्लाबाट आएर पाल्पामा मतदाता बनेका १९३ जनामा १२२ महिला र ७१ पुरुष छन् । दर्ता भएको विवरण अहिले रुजु तथा त्रुटि सच्याउने चरणमा पुगेको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये अधिकांश युवा उमेर समूहका छन् ।
आगामी निर्वाचनमा पाल्पामा यसअघि नै कायम ११८ मतदान स्थललाई यथावत् राख्ने निर्णय भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीका अनुसार मतदाता सङ्ख्या र आवश्यकताका आधारमा केही स्थानमा मतदान केन्द्र थप्ने विषयमा समीक्षा भइरहेको छ ।
दाङमा पाँच हजार
दाङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँच हजार २८२ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये दुई हजार ९१७ जना पुरुष र दुई हजार ३६५ जना महिला रहेका छन् । अधिकांश नयाँ मतदाता युवापुस्ताका रहेका छन् ।
त्यसै गरी बाह्य जिल्लाका ४२२ पुरुष र २०१ महिला मतदाताले पनि दाङमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । यस अवधिमा एक हजार ३५ जना मतदाताले त्रुटि सच्याउन र एक हजार ४० जना मतदाताले ठाउँ सारीका लागि निवेदन दिएका छन् ।
(सिराज खान नेपालगन्ज, रेखीराम राना तानसेन, लीलाधर वली घोराहीको सहयोगमा)