• ८ मंसिर २०८२, सोमबार

पौवादुङमाको चाँपे गाउँमा घरघरमा जडान

blog

भोजपुर, मङ्सिर  ८ गते ।  पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो ।

यहाँका पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उहाँको भनाइ छ । 

“स्थानीयको पानीको समस्या समाधानको लागि चाँपे गाउँमा पानी वितरण गर्न सफल भएका छौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यहाँका सबै घरमा शुद्ध पिउने पुगेको अवस्था छ । अब भने यहाँका स्थानीयको वर्षौँदेखिको पानीको समस्या समाधान भएको छ ।”

यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गाउँपालिकामा ठूला–साना विभिन्न खानेपानी योजना सञ्चालन गरेर ‘एक घर एक धारा’ पु¥याउने लक्ष्यका साथ काम गरिरहेको उपाध्यक्ष राईको भनाइ छ ।

“यहाँका ३० परिवारको घरमा धारा जडान गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाको अन्य वडामा पानीको निकै ठूलो समस्या छ । ठूला योजना सञ्चालनसँगै यहाँका मुहानको संरक्षण गरेर स्थानीयको घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।

‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पु¥याइएपछि स्थानीयवासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी तारा तामाङले बताउनुभयो । अब भने पानीको जोह गर्नको लागि घण्टौ समय बिताउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

“घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उहाँले भन्नुभयो, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्दै आएका थियौँ । घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।”

घरमा धारा नहुँदा घण्टौँ परबाट डोकोमा बोकेर ल्याएर पानीको जोह गर्दै आएको अर्की स्थानीयवासी सङ्गीता राईले बताउनुभयो । घरको आगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसावारी प्रयोग गर्दै आएको उहाँको भनाइ छ ।

“विगतमा पानीको जोह गर्न डोको बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीको सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ । गाउँपालिकाले गरेको कामले हाम्रो दैनिकीमा परिवर्तन ल्याएको छ ।” रासस