चितवन समाचारदाता
चितवन, मङ्सिर ८ गते । आगामी पुस १ गतेबाट बाघ गणना गर्ने तयारी भएको छ । बाघ पाइने निकुञ्ज र संरक्षित क्षेत्रमा गणना गर्न लागिएको हो । बाघ गणना सकिएलगत्तै गैँडा गणनासमेत गरिने तयारी भएको छ । गत आर्थिक वर्षको अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि गैँडा गणना रोकिएको थियो । चालु आर्थिक वर्षको फागुन अन्तिमबाट गैँडा गणना गर्ने तयारी गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
बाघ पाइने प्रमुख स्थान चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा
राष्ट्रिय निकुञ्जमा बाघ गणना हुने छ । दुवै गणनाका लागि बजेट विनियोजन भएको छ । हरेक चार चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिस्ट तथा सूचना अधिकारी आचार्यले पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणनाको कार्य सकिने बताउनुभयो ।
गैँडा गणना फागुनको अन्तिम साताबाट हुने छ ।
गैँडा गणना गर्न तीन हप्ता लाग्ने छ ।
गैँडा पाइने स्थान चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने तयारी छ । बाघ गणनाका लागि चालु आवमा विभागले १८ लाख रुपियाँ विनियोजन गरेको छ । यसका लागि एक करोड ५० लाख रुपियाँभन्दा बढी खर्च हुने गर्दछ । गैँडा गणनाका लागि पनि विभागले १८ लाख रुपियाँ नै विनियोजन गरेको छ । गैँडा गणना गर्न दुई करोडभन्दा बढी खर्च लाग्ने गर्दछ । दुवै गणनाका लागि अपुग हुने रकम दाताको सहयोगबाट जुटाउने तयारी भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । गणनाका लागि नपुग रकम हरेक पटक दाताको सहयोगबाटै जुटाइँदै आएको छ ।
यसअघि विसं २०७८ मङ्सिर १९
गतेदेखि गरिएको गणनामा नेपालमा ३५५ बाघ पुगेका थिए । उक्त गणना फागुन २८ गते सम्पन्न भएको थियो । बाघको सङ्ख्या ३५५ पुगेपछि नेपालले सन् २०२२ सम्ममा सङ्ख्या दोब्बर बनाउन लिएको लक्ष्य पूरा भएको थियो ।
गणना अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा पाइएको थियो । यहाँ १२८ वटा बाघ छन् । त्यसै गरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको थियो । यस वर्षको पुस १ गते गरिने बाघ गणनाको सुरुवात चितवन निकुञ्जबाट गर्ने तयारी भएको छ । बाघ गणनाका लागि चितवन–पर्सा, बाँके–बर्दिया र शुक्ला–लालझाडी–जोगबुढा गरी तीन वटा कम्प्लेक्समा विभाजन गरेर गणना गर्ने तयारी भएको छ ।
नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटेबाघ पाइन्छन् । नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशले दोब्बर बनाउने सङ्कल्प गर्दै महìवपूर्ण निर्णय गरेको थियो । नेपालले यो लक्ष्य सन् २०१८ को गणनामै झन्डै हासिल गरेको थियो । सन् २०१० मा नेपालमा १२१ बाघ थिए । सन् २०१३ को गणनामा १९८ पुगेको थियो भने सन् २०१८ मा बाघको सङ्ख्या २३५ पुगेको थियो । सन् २०१८ को गणनामा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामरा राख्ने बताउनुभयो । क्यामराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने बताउनुभयो । हरेक बाघको पाटा फरक फरक हुने गर्दछ ।
गैँडा गणना भने हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब एक सयको हाराहारीमा झरेको थियो । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो ।