तुलसीपुर (दाङ), मङ्सिर ८ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गर्नुभएको थिएन । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ ।
स्वास्थ्यकर्मीले उहाँलाई तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । “पहिले कहिल्यै जाँच गरेकी थिइन”,उहाँले भन्नुभयो“अहिले जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, शल्यक्रिया गर्ने भन्नुभएको छ ।”
त्यस्तै तुलसीपुर १२ कै ८२ वर्षीय चेतनाथ पोख्रेलको पनि आँखा परीक्षण गर्दा मोतिविन्दु देखियो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पतालले एनएबिपी नर्वेको आर्थिक एवं प्राविधिक सहयोग आयोजित निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका–१२ द्वारा संयोजित सो निःशुल्क आँखा जाँच कार्यक्रम ८२ वर्षीय पोख्रेलले पनि आँखा परीक्षण गराउनुभएको थियो । आँखा जाँच गरेपछि उहाँले अब प्रत्येक ६÷६ महिनामा आँखा अस्पताल गएर जाँच गराउने स्वास्थ्यकर्मीले सुझाव दिएको बताउनुभयो ।“पहिले पनि आँखामा औषधि त हाल्थेँ, आँखा चिलाउथ्यो, आँशु आउथ्यो”,उहाँले भन्नुभयो “तर, अहिले मोतिविन्दु नै भइसके छ ।”
आइतबार तुलसीपुर १२ हरिपौरीस्थित वडा कार्यालयमा भएको शिविरमा उहाँहरु जस्तै २४७ जनाले निःशुल्क आँखा जाँच गराउनुभएको थियो ।
यो कार्यक्रमले वडावासीलाई गाउँमै सेवा प्रदान गन सहज भएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार अझै पनि आँखाको रोग पालेर गाउँ–गाउँमा बसिरहेकाले समस्या पहिचान गरी उपचार गर्नका लागि भूमिका खेल्न यो शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट ४० जनामा मोतिविन्दु देखिएको थियो । उनीहरुलाई निःशुल्क उपचार गरिनेछ भने त्यो बाहेक अन्य शल्यक्रिया गर्नुपर्ने भएमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । रासस