राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) मङ्सिर ८ गते । स्याङ्जाको वालिङमा आगामी माघमा महोत्सव हुने भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा ‘नवौ वालिङ महोत्सव’ गर्न लागेको हो । माघ १४ देखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीमा संघ जुटेको हो ।
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय रुपमा लिइएको नवौ महोत्सवमा व्यापारिक मेला, विद्यालयस्तरीय नृत्य, लोकदोहोरी प्रतियोगिता, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी गरिने वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय उत्पादनलाइ प्राथमिकतामा राखेर महोत्सव सञ्चालन गर्ने संघको तयारी रहेको उहाँको भनाइ छ ।
महोत्सवमा अर्गानिक कफी प्रदर्शनी, पशुपंक्षीसम्बन्धी उन्नतजात तथा प्रविधिको प्रदर्शनी, अदुवा तथा जडिबुटीको प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, खेलकुद प्रतियोगिता, बाल उद्यान, हस्तकला प्रदर्शनीलगायत स्थानीय कलासंस्कृति प्रदर्शनी हुने संघले जनाएको छ ।
नवौ वालिङ महोत्सवमा १० करोडको अल्पकालीन कारोबार र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । एक करोड ७६ लाख आम्दानी, एक करोड दुई लाख खर्च गरेर ७३ करोड बचत गर्ने अनुमान गरिएको नवौ वालिङ महोत्सव–२०८२ विगतभन्दा फरक बनाउने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । संघले प्रत्येक दुई/दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ ।