धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर ७ गते । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगज्जननी माता सीताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष मनाइने साताव्यापी राम–जानकी विवाहपञ्चमी महामहोत्सव अन्तर्गत शनिबार धनुष यज्ञ कार्यक्रमको आयोजना गरिएको छ ।
जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा आज आयोजना गरिएको धनुष यज्ञ कार्यक्रममा भगवान रामको प्रतीकको रुपमा रहेका बालकले धनुष भाँच्दा माता सीताको प्रतिकको रुपमा रहेको बालिकाले उहाँको गलामा माला लगाएका थिए ।
कार्यक्रम हेर्न आएका श्रद्धालुहरुले ताली बजाउँदै फूलको वर्षा गरेका थिए । त्रेता युगमा राजा जनकले भगवान शिवको धनुष भाँच्न सक्ने वीर पुरुषसँग मात्र आफ्नी छोरीको विवाह गर्ने गरेको प्रतिज्ञा पूरा गर्न भगवान् रामले धनुष भाँचेको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ कार्यक्रममको आयोजना हुनेगरेको छ ।
धनुष यज्ञको कार्यक्रममा मैथलानी महिलाले विभिन्न किसिमको मङ्गलगान गाएर सहभागी श्रद्धालुलाई मनोरञ्जन गराएका थिए । त्रेतायुगमा भएको भगवान राम र सीताको फूलबारीमा भेट भएर प्रेम भएको प्रसङ्ग दर्शाउँदै यसअघि शुक्रबार फूलबारी लीला कार्यक्रमको आयोजना गरिएको थियो ।
सात दिवसीय कार्यक्रम अन्तर्गत आइतबार तिलकोत्सव, सोमबार माता सीताको मटकोर र मङ्गलबार राम सीताको स्वयम्बर र वैवाहिक कार्यक्रमको आयोजना हुने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकारी दिनुभयो ।
कात्तिक शक्ल पञ्चमीका दिन हुने राम–सीताको वैवाहिक कार्यक्रम हेर्न नेपाल–भारतको विभिन्न स्थानबाट लाखौँको सङ्ख्यमा श्रद्धालुहरु आउनेगरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह नेतृत्वको टोली भारतको अयोध्यावाट आउने जन्तीलाई निमन्त्रणा दिन अयोध्या पुगेको उत्तराधिकारी महन्थ राम रोशन दासले बताउनुभयो ।
विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राखेर जनकपुरधाम नगर क्षेत्रभित्र स्थानीय प्रशासनले आइतबारदेखि बुधबारसम्म मासु, मदिरा बेचविखन बन्द गरेको छ । नगरभित्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित विभिन्न सङ्घ संस्थाले विवाहपञ्चमीको अवसरमा जनकपुरधामको विभिन्न ठाउँमा स्वास्थ्य शिविरको आयोजना गर्न लागेको जनाएको छ ।