जनार्जन खत्री
सर्लाही, मङ्सिर ७ गते । कुनै समय मालपोत र नापी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र बटुवाको शौच गर्ने ठाउँको रुपमा रहेको सदरमुकाम मलङ्गवास्थित माल पोखरीको मुहार फेरिएको छ ।
मलङ्गवा नगरपालिका –८, मा रहेको यो पोखरीमा पुग्ने जोकोही अहिले सफासुग्घर देखेर आश्चर्यमा पर्छन् । स्थानीयले माल पोखरीको नाम नै परिवर्तन गरेर सीताराम पोखरी राखेका छन् ।
सङ्घीय सरकारको बजेटबाट पोखरीमा सौन्दर्यकरणसहित छठघाट निर्माणको काम भएपछि पोखरीको मुहार नै फेरिएको हो । केही समय अघिसम्म शौच गर्ने ठाउँ रहेको माल पोखरी वरपर अहिले बिहान स्थानीय तथा कर्मचारीहरु मर्निङवाक गर्नेदेखि घुमफिर गर्न जाने ठाउँ बनेको छ ।
पोखरीको संरक्षणका लागि स्थानीयले समिति गठन गरेका छन् । रन्जितकुमार साह (पप्पु) अध्यक्ष रहने गरी गठन गरिएको १३ सदस्यीय समितिले पोखरीको संरक्षण, सरसफाई र रेखदेख गर्ने काम गर्दैआएको छ ।
सामूहिक रुपमा भेला गरेर पोखरीलाई अब निरन्तर संरक्षण गरी अझ सुन्दर र सफा बनाउँदै लैजाने निर्णय गरिएको पोखरी संरक्षण समितिका अध्यक्ष साहले बताउनुभयो । पोखरी किनारमा सौन्दर्यकरणको काम जारी रहेको छ ।
स्थानीयहरु आफै जागरुक भएर पोखरीको सरसफाई र संरक्षणमा लागेपछि पहिलेझैँ मालपोत र नापी कार्यालय पुग्दा पोखरीतर्फबाट दुर्गन्ध आउन बन्द भएको सेवाग्राहीले बताएका छन् । मलङ्गवा नगरपालिका –८ का वडाध्यक्ष मुकेशकुमार जयसवालले स्थानीय सबै जुर्मुराएर लागिपरेकाले पोखरीको संरक्षण र सौन्दर्यकरणमा टेवा पुगेको बताउनुभयो ।