• ७ मंसिर २०८२, आइतबार

हराएकी महिला १० दिनपछि मृत फेला

blog

तिलाचन पाण्डे

तम्घास,मङ्सिर ७ गते । गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने ४० वर्षीया सीता थापा १० दिनपछि मृत अवस्थामा फेला परेकी छन्। कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मङ्सिर ४ गते  प्रहरी चौकी धनार्जेमा हुलियासहितको निवेदन दिइएको थियो।

खोजतलास जारी रहँदा जिल्ला गुल्मी धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडा स्थित मुक्तिनाथ भण्डारीको ढुङ्गा माटोले छाएको खाली घरमा थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले घटनास्थल तत्काल सुरक्षित गर्दै प्रारम्भिक अनुसन्धान सुरू गरेको छ।

इलाका प्रहरी चौकी धुर्कोटबस्तुबाट प्रहरी सहायक निरीक्षक शारदा भट्टको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय  पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा  टोली खटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव सडेगलेको अवस्थामा फेला परेको र उनी मदिरा सेवन गर्ने स्वभावकी रहेको बुझिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।