नवराज कट्टेल
विराटनगर, मङ्सिर ७ गते । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजनाअन्तर्गत महानगरपालिकाका क्षेत्रमा ५८ किलोमिटर दूरीमा पाइप बिछ्याउने काम चलिरहेको छ ।
विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गर्दै नयाँ वितरण प्रणाली स्थापित गर्न २ अर्ब ५४ करोड रुपियाँको आयोजना चालु अवस्थामा रहेको हो ।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा एक लाख नगरवासीलाई शुद्ध पिउने पानी पुर्याउने लक्ष्यसहित आयोजना अघि बढेको छ । निर्माण सम्पन्नपछि अबका ११ महिनामा नगरवासीले पानी पिउने अवसर पाउने अपेक्षा राखिएको छ । हालसम्म म्याद अवधीभन्दा ५ प्रतिशत बढी प्रगति देखिएको बताइएको छ ।
सिमुजी कर्पोरेसनले खानेपानी सुधार आयोजना अन्तर्गतको काम गरिरहेको छ । यो जापानी कम्पनी हो । यसका जनसम्पर्क अधिकृत तथा इन्जिनियर अरबिन्द कर्णका अनुसार ५८ किलोमिटरमा नयाँ पाइप बिछ्याउनुपर्नेमा हालसम्म ५० किलोमिटर सकिएको छ । जुन ९० प्रतिशत हो । इन्जिनियर कर्णका अनुसार बिछ्याउने र पुर्ने कामसँगै पाइप लाइन प्रेसर, हाउस कनेक्सन, इन्टर कनेक्सन पनि सँगसँगै भइरहेको छ ।
अहिले पाइप बिछ्याउन खनिएको सडक कालोपत्रे भइरहेको छ । महानगरपालिका क्षेत्रको ३ किलोमिटर दूरीमा कालोपत्रे पनि गरिसकिएको छ । खानेपानी सुधार आयोजना अन्तर्गत विराटनगर महानगरपालिका वडा १ देखि १४ नम्बरसम्म विस्तार भइरहेको छ । विस्तारमा पाइप लाइन प्रेसर, हाउस कनेक्सन र इन्टरकनेक्सन समेत सँगै गरिएकाले पछि पुनः त्यही काम गर्नुनपर्ने दाबी गरिएको छ ।
इन्जिनियर कर्णका अनुसार यसपछि पानी छोड्दा पुनः सडक खन्नु नपर्नेगरी काम गरिएको छ । जसका लागि मेन लाइनबाट सब–लाइनमा लगिएको पाइप, हाउस कनेक्सनमा जोड्न ड्रेनेज (नाला) र फुटपाथमा निकालिएको छ । यस बाहेक पुरानो पानीको आपूर्ति प्रणालीमा रहेको पाइपमा नयाँ पानीको पाइप जोड्न इन्टरकनेक्सन १२ स्थानमा गराइएको छ । यो इन्टर कनेक्सन गर्नेपर्ने अन्य बिन्दुसमेत पहिचान भइरहेको छ ।
विराटनगर महानगरपालिकाभित्र हाल खानेपानी संस्थान अन्तर्गतको पानी १३ हजार घरधुरीमा वितरण भइरहेको छ । नयाँ आयोजनाबाट एकलाख नागरिक यसबाट लाभान्वित हुनेछन् । त्यस बाहेक उपभोक्ता समिति अन्तर्गत पानी वितरण भइरहेको छ ।
नयाँ प्रणाली अन्तर्गत विराटनगर –५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण भइरहेको छ । त्यही स्थानमा साढे चारलाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्की पनि निर्माणाधीन चरणमा छ ।
यसैगरी संस्थानको पानी वितरण भइरहेका स्थान देवकोटाचोक, तीनपैनी र मुनालपथमा थप १२–१२ लाख लिटर क्षमताको ट्याङ्की निर्माणको काम भइरहेको छ । इन्जिनियर कर्णका अनुसार हालसम्म ट्याङ्की निर्माणको कार्य ६५ प्रतिशत सकिएको छ । यी ट्याङ्की भएका स्थानमा ३–३ वटा डिप बोरिङबाट पानी निकाल्ने काम सकिएको छ ।
यस पटकको खानेपानी प्रणालीमा महानगरपालिका क्षेत्रका ३२ स्थानमा फायर हाइड्रेण्ड राखिएको छ । जसले महानगरपालिकाभित्र आगलागी हुँदा पानी निभाउन पानीको सहज स्रोतको काम गर्नेछ । विराटनगरमा खानेपानी सुधार आयोजनाका लागि जाइकाले सन् २००९ बाट अध्ययन सुरु गरेको थियो ।
विराटनगरमा हेपाटाइटिस महामारी फैलिएपछि खानेपानी सुधारमा राजनीतिक पहल सुरु भएको थियो । अनुदान सम्झौता भने १० मार्च २०२२ मा भएको थियो । यसको शिलान्यास २०८१ असारमा भएको थियो । सम्झौता अनुसार २०८३ जेठ १७ अर्थात ३१ मे २०२६ मा काम सम्पन्न गर्नेगरी जापानकै सिमिजु कर्पोरेशनले २०८१ वैशाख १२ गते ठेक्का सम्झौता गरेको हो ।