• ७ मंसिर २०८२, आइतबार

‘उच्च हिमाली क्षेत्रलाई भेडा हब बनाउँछौँ’

blog

हिमाली क्षेत्रमा मुख्यमन्त्रीलाई स्वागत गर्दै सर्वसाधारण ।

अविनाश चौधरी

धनगढी, मङ्सिर ७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको उच्च हिमाली क्षेत्रलाई भेडा हबको रुपमा विकास गरिने बताउनुभएको छ । 

आइतबार त्यहाँको भ्रमणको क्रममा उहाँले यस्तो बताउनुभएको हो । हिमाली क्षेत्रमा भेडापालनको अत्यधिक सम्भावना रहेकाले भेडा हबको रुपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । त्यसका लागि आवश्यक प्राविधिक तथा संरचनागत तयारी अगाडि बढाइने मुख्यमन्त्री शाहको भनाइ छ । 

उहाँले प्रदेश सरकारले हिमाली क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “यहाँको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा देखिएको चुनौतीलाई प्राथमिकताका साथ समाधान गरिनेछ”, मुख्यमन्त्री शाहले भन्नुभयो,“लिफ्टिङ प्रविधिमार्फत दुर्गम बस्तीसम्म स्वच्छ पानी पुर्‍याउन प्रदेश सरकार तयारी अवस्थामा छ ।”

मुख्यमन्त्री शाहले हिमाली क्षेत्रमा पाइने औषधीय जडीबुटीको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनका लागि प्रदेश सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो । उहाँले जडीबुटी सङ्कलन, प्रशोधन र मूल्यवृद्धि गर्ने आधार संरचनाको विकास गरिने बताउनुभयो ।