ललितपुर, मङ्सिर ७ गते । डा. ज्योति तुलाधरको ‘आधुनिक काव्य व विद्रोहया सः–छगू विश्लेषण’ समालोचना सङ्ग्रह पाटन सङ्ग्रहालयमा विमोचन गरिएको छ ।
उक्त सङ्ग्रह नेपाल भाषा अकाडेमीका चान्सलर मल्ल के सुन्दरको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकारहरु प्राध्यापक नर्मदेश्वर प्रधान, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, प्रतिसरा सायमि, डा. योगेन्द्र प्रधान, रजनिमिलाले सामुहिक विमोचन गर्नुभएको हो ।
विदेशमा रहेर पनि नेपाल भाषा साहित्य सिर्जना गर्दै आउनुभएका कविताया लाय्कूका अध्यक्ष डा. तुलाधरले उक्त सङ्ग्रहमा वरिष्ठ साहित्यकारहरु डा. योगेन्द्र प्रधान, पूर्ण वैद्य, आनन्द जोशी, श्यामसुन्दर सँयजु, नेपाल भाषाका महाकवि गिरिजा प्रसाद जोशी, प्रा. नर्मदेश्वर प्रधान, बुद्ध सायमि, प्रतिसरा सायमि, सुरेशकिरण मानन्धर र रजनिमिलाका आधुनिक काव्यबारे समालोचना गर्नुभएको छ ।
विमोचित कृतिको समिक्षा प्रा. प्रेमशान्ति तुलाधरले गर्नुका साथै मञ्चमा आसिन विशेष अतिथिहरुले विमोचित कृतिमा समेटिएका आ–आफ्नो कविताहरु वाचन गर्नुभयो । कार्यक्रममा कविताया लाय्कूलाई अझ स्तरीय बनाउनका लागि २४ जना बरिष्ठ साहित्यकारहरुको वैचारिक समूह गठन गरिएकाे छ ।