• ७ मंसिर २०८२, आइतबार

बैतडीमा आठ सय बढी नयाँ मतदाता थपिए

blog

केशब राज भट्ट

वाशुलिङ (बैतडी), मङ्सिर ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा मतदाता नामावली दर्तामा उल्लेख्य वृद्धि भएको छ । निर्वाचन आयोगले तोकेको मङ्सिर ५ गतेसम्मको अन्तिम समयसीमा भित्र जिल्लामा ८०४ जनाले मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएका छन् । 

जिल्लामा अभ्यन्तर तयारी तीव्र भइरहेका बेला दर्ता संख्या बढ्नुले निर्वाचन प्रतिको चासो जनाउँछ । जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीका अनुसार अन्तिम समयसम्म ५२९ पुरुष र २७५ महिलाले नाम दर्ता गरेका छन । उहाँका अनुसार दर्ताका लागि जिल्ला तथा स्थानीय तहमा तोकिएका काउण्टरमा नागरिकको भीड अन्तिम दिनसम्म निरन्तर थियो।

कार्यालयका तथ्याङ्क अनुसार असोज ८ गतेसम्म बैतडीमा १८ वर्ष उमेर पुगेका कूल १ लाख ५४ हजार २१६ जना मतदाता रहेका छन । तीमध्ये ७६ हजार ८३४ महिला, ७७ हजार ३८० पुरुष र २ जना अन्य मतदाता छन । जनसांख्यिक हिसाबले हेर्दा जिल्लामा पुरुष–महिला मतदाता संख्या सन्तुलित देखिन्छ ।

जिल्लामा दर्ता भएका नयाँ मतदाता मध्ये करिब ८० प्रतिशत जेन–जी उमेर समूहका रहेका छन् । स्मार्टफोन प्रयोग, अनलाइन सूचनाको पहुँच र सामाजिक–राजनीतिक चासोका कारण जेन–जी उमेर समूह सक्रिय हुँदै जानु उत्साहजनक रहेको कार्यालयले उल्लेख गरेको छ ।

गत प्रतिनिधि सभा निर्वाचन (२०७९) मा बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेका थिए । बैतडीमा एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेश सभा निर्वाचन क्षेत्र, १० स्थानीय तह र ८४ वडा रहेका छन। पछिल्लो दर्ता अभियानपछि आगामी निर्वाचनमा मतदाता संख्या थप वृद्धि हुने संकेत देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सामग्री, जनशक्ति परिचालन र व्यवस्थापन सम्बन्धी तयारी क्रमशः अघि बढाइएको छ । मतदाता नामावली अद्यावधिक अभियान सम्पन्न भएपछि अब मतदान केन्द्र निर्धारण, प्रशिक्षण तथा निर्वाचन व्यवस्थापनका बाँकी चरणहरू कार्यान्वयनमा लाग्ने जनाइएको छ ।