अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर ७ गते । प्रदेश अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा प्रसूति सेवा बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पातबाट बाहिरीए पछि गत महिनादेखि नै प्रसूति सेवा ठप्प हुँदा प्रसूति सेवा लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता सृजना भएको छ ।
‘‘विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने भन्दै पठाएपछि पोखरा जान बाध्य भए, आफ्नै जिल्लाको अस्पतालमा सेवा पाउन सकिन’’ बेनी अस्पतालबाट प्रसूति सेवा लिन पोखरा जादै गरेकी एक गर्भवतीका श्रीमानले भन्नुभयो । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य डेलिभरी हुने अवस्थामा जटिलता आउन सक्ने भन्दै डेलिभरीका लागि रिफर गर्ने गरिएको बिरामीको गुनासो छ ।
म्याग्दी, पर्वतको जलजला गाउँपालिकाबाट आउने गर्भवतीलाई समस्या भए पनि हालसम्म प्रदेश सरकारले चिकित्सक पठाउन सकेको छैन । केही वर्ष अगाडि बागलुङ र धौलागिरी अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रिफर गरेको गर्भवती महिलाको बेनीमा सफल शल्यक्रिया गरेको सर्वत्र चर्चा भएको थियो तर अहिले जनशक्ति अभावमा प्रसूति सेवा ठप्प प्रायः छ ।
बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रामु सापकोटाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा सेवा प्रभावमा समस्या भएको बताउनुभयो । ‘‘हाल हामीले विज्ञापन गरेको र त्यस विज्ञापनमा कोही आउनुभएन, प्रदेश सरकारलाई पनि समस्याका बारेमा जानकारी गराएका छौं, तर पनि हालसम्म चिकित्सक आउनुभएको छैन ।’’ उहाँले भन्नुभयो ।
हाल हाडजोर्नी तथा नसा रोग बाहेक अन्य शल्यक्रिया सेवासमेत ठप्प छ । सरकारी अस्पतालप्रति सर्वसाधारणको सकारात्मक धारणा बने पनि प्रसूति सेवाका चिकित्सक नहुँदा विपन्न महिलाले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था बनेकाले गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयलाई पटकपटक अनुरोध गर्दा सुनुवाइ नभएको जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो । बेनी अस्पतालको नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि बिरामीको चाप दैनिक बढ्दै गएको छ ।
बहिरङ्ग विभागमा पर्याप्त चिकित्सक भए पनि प्रसूतिसहितको सेवा ठप्प हुँदा जिल्लाका जनप्रतिनिधि तथा सरोकारवाला निकायको ध्यान जान सकेको छैन । अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बालरोग उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । बेनी अस्पतालमा वर्षेनी ६० हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका डा.सापकोटाको भनाइ छ ।