• ३ मंसिर २०८२, बुधबार

युद्ध सङ्ग्रहालय अलपत्र

blog

छविलाल पाण्डे

बुटवल, मङ्सिर ३ गते । बुटवलको इतिहास र युद्धको गौरवसँग जोडिएको ऐतिहासिक जितगढी युद्ध सङ्ग्रहालय बजेट अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । बुटवल–१ पुरानो बटौली बजारमा बनेको यो सङ्ग्रहालय दुई वर्षअघि निर्माण सम्पन्न भए पनि सञ्चालनका लागि अझै १२ करोड रुपियाँ आवश्यक पर्ने भएकाले सञ्चालनमा कठिनाइ आएको हो । 

दुई वर्षअघि नै चारतले सङ्ग्रहालय भवन निर्माण सम्पन्न भई बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो तर सङ्ग्रहालयमा राख्ने युद्ध सामग्री नहुँदा भवन अहिले अलपत्र जस्तै छ । 

शिवशक्ति कन्स्ट्रक्सन प्रालि बानेश्वर काठमाडौँले २०७७ साल माघ २६ गते सङ्ग्रहालय बनाउने ठेक्का लिएको थियो । निर्माण कम्पनी शिवशक्तिले २०८० असार १० गते निर्माण सम्पन्न गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरिएको दुई वर्ष पूरा हुँदा पनि युद्ध सङ्ग्रहालय सञ्चालनमा नआउँदा स्थानीय बुटवलवासी चिन्तित बनेका छन् । बुटवल–१ का रामेश्वर आचार्यले घरअगाडि सङ्ग्रहालयको भवन बने पनि सञ्चालनमा नआउँदा नराम्रो लागेको सुनाउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले भवन निर्माण सम्पन्न भई निर्माण व्यवसायीले दुई वर्षअघि नै बुटवल उपमहानगरलाई भवन हस्तान्तरण गरेको जानकारी दिनुभयो । 

उहाँले युद्ध सङ्ग्रहालयमा राख्ने युद्ध सामग्री नहुँदा सञ्चालनमा आउन समस्या परेको बताउँदै सङ्ग्रहालय चलाउन १२ करोड रुपियाँ आवश्यक पर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलकै ऐतिहासिक पुरानो बटौली बजारको संरक्षणको काम अघि बढेकाले अब जितगढी युद्ध सङ्ग्रहालय पनि छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको बताउनुभयो । 

बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले बजेट सुनिश्चित नहुँदा भवनको बाहिरी रूप बनेर तयार भए पनि भवनभित्र राखिने ऐतिहासिक महìवका युद्ध सामग्रीको काम बाँकी रहेको बताउनुभयो । करिब छ करोड ८२ लाख ५० हजार रुपियाँमा निर्माण भएको सङ्ग्रहालय बुटवलको गहना रहेको स्थानीय बताउँछन् । स्थानीय पार्वती पोखरेलले जितगढी युद्ध सङ्ग्रहालय सञ्चालनमा आए पुरानो बटौली बजारको चहलपहल बढ्ने विश्वास व्यक्त गर्नुभयो । करिब २१० वर्षअघि १८७२ सालमा नेपाल र अङ्ग्रेज फौजबिच यही बुटवलको जितगढीमा युद्ध भएको थियो । युद्धमा नेपाली फौजले अङ्ग्रेजलाई पराजित गरेको थियो ।  

अङ्ग्रेज फौजलाई पराजित गरेको स्थान जितगढीको संरक्षणका लागि बुटवल उपमहानगरले बर्सौंदेखि काम गरिरहेको छ । त्यसमध्ये जितगढी युद्ध सङ्ग्रहालय पनि एक हो । बुटवल उपमहानगर–१ स्थित पुरानो बटौलीमा करिब तीन कट्ठामा निर्माण गरिएको चारतले सङ्ग्रहालय भवन अहिले चापी लगाएर राखिएको छ ।