• २९ कात्तिक २०८२, शनिबार

पशुपति क्षेत्रका साझा सम्पदा

सिफलचौरले खोजेको पहिचान

blog

  • पोखरी भनेको बस्तीवस्तुको अभिन्न अङ्ग थियो कुनै बेला । सुखमा पनि, दुःखमा पनि मानिसका लागि पानी नभई नहुने अमृत तत्व हो । 
  • ढुङ्गेधारा वास्तु साँच्चै भन्ने हो भने नेपालको आफ्नै विशिष्ट पहिचान हो । कहाँ त्यति सजिलै ढुङ्गेधारा निर्माण गर्न सकिन्छ रु यसलाई त ईश्वरीय देन भने हुन्छ ।
  • सिफलचौर हाम्रो साझा सम्पदा हो, यसलाई जोगाउनु भनेको हाम्रो पहिचान जोगाउनु हो । 

आराध्यदेव भगवान् श्री पशुपतिनाथको वैदिक काल वा त्योभन्दा अगाडिदेखि नै धार्मिक–आध्यात्मिक आस्थावान् एवं भक्तजनमाझ ख्यातिप्राप्त रहेको वेद, पुराण एवं इतिहास साक्षी छ । नेपालको प्रामाणिक इतिहासको सुरुवात भएको लिच्छविकालदेखि नै पशुपतिनाथप्रति राष्ट्रियस्तरमै भक्तिभाव दर्शाउने किसिमका अनेकौँ काम भएका छन् । विसं १८७० मा आइपुग्दा अर्को उल्लेखनीय काम पशुपतिनाथ मन्दिरका लागि भयो । 

तात्कालिक राजा गीर्वाणयुद्ध विक्रम शाहले विसं १८६७ मा सङ्कल्प गरे अनुसार विसं १८७० चैत्रकृष्ण ३० रोज २ मा एउटा लालमोहर जारी गरे । जस अनुसार उनले पश्चिम–उत्तरमा धोबीखोला साँध, पूर्वमा श्लेषमान्तक जङ्गलको पूर्वी सिमाना, उत्तरमा गौरीघाटबाट धन्दोचैत्य पुग्ने गलछेँडो हुँदै धुम्बाराहीको पुलसम्म, दक्षिणमा रातोपुलको मूल सडक, गौशालाचोक हुँदै ताम्रेश्वर चोकसम्मको क्षेत्रभित्रको कुनै मठमन्दिरमा दरिएको गुठी, बिर्ता र जागिरबाहेकका सम्पूर्ण सार्वजनिक, पर्ति जग्गा, वनजङ्गल, उद्यान, पोखरी, ढुङ्गेधारा जस्ता सार्वजनिक महत्वका वस्तु भगवान् पशुपतिनाथको नाम समर्पण गरिदिएका थिए । इतिहासमा पहिलो पटक यसरी पशुपतिनाथ एवं पशुपति क्षेत्रलाई निश्चित क्षेत्र तोकी समुच्चा स्थललाई तीर्थस्थलको रूपमा महत्व दिने काम राजा गीर्वाणयुद्ध विक्रम शाहबाट भयो । यसैको निरन्तरतालाई अहिलेसम्म पछ्याइएको छ । त्यही तोकिएको सिमानाको आधारमा विसं २००९ मा पशुपति क्षेत्रको नक्सा तात्कालिक नापी विभागले बनाएको थियो ।

यही क्षेत्रलाई समेटेर राजा वीरेन्द्रबाट विसं २०४३ मा पशुपति क्षेत्र विकास कोष गठन भयो । यसको गठन विसं २०४३ मा अध्यादेशबाट भए पनि विसं २०४४ मा पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ आयो । विसं २०५० मा यसको सामान्य संशोधन भएको छ । त्यस ऐनले विसं २०४३ फागुन १४ को राजपत्रमा प्रकाशित चार किल्लाभित्रको मठमन्दिर, गुम्बा बिहार, ढुङ्गेधारा, पोखरी, चौर, वनजङ्गल, बाग्मती एवं धोबीखोला आदि सबै क्षेत्रको संरक्षण, संवर्धन एवं प्रवर्धन गर्ने जिम्मा पशुपति क्षेत्र विकास कोषको कार्यक्षेत्रभित्र पर्न गयो । पशुपति क्षेत्र अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्थाका रूपमा यस ऐनले कल्पना गरे पनि सोचे जस्तो स्वायत्त र स्वशासित अझै हुन सकेको छैन । 

पशुपति क्षेत्र भनी राजपत्रमा उल्लिखित सिमानाभित्र करिब २६४ हेक्टर (करिब पाँच हजार रोपनी) क्षेत्रफलमा फैलिएको छ । काठमाडौँ महानगरपालिकाले हालैका दिनमा पशुपति क्षेत्रको पश्चिम–दक्षिण दिशामा ठिक भण्डारखाल उद्यानको पश्चिमपट्टि रहेको ऐतिहासिक चौरमा ‘फुटबल ग्राउन्ड’ बनाउने भनेर टेन्डर आह्वान गरेको रहेछ । यस चौरलाई नेवारी भाषामा ‘तपा ख्यः’ भनिन्छ । कामनपा वडा नं ७ मा रहेको यो क्षेत्रको धार्मिक–सांस्कृतिक महत्वको विषयमा आफ्नो तालुकवाला निकाय कामनपा, केन्द्रीय कार्यालयलाई जानकारी गराउनुपर्नेमा त्यसो गरिएको देखिएन । गरेको भए (१) पशुपति क्षेत्र अन्तर्गत रहेको ठाउँको सरोकारवाला पशुपति क्षेत्र विकास कोषको स्वीकृतिबिना कसरी टेन्डर आह्वान ग¥यो, (२) पशुपति क्षेत्र विकास कोष अन्तर्गतको अधिकार क्षेत्रभित्र पर्ने ठाउँमा कुनै योजना तयार पारिन लागेको हो भने सरोकारवाला निकायसँग समन्वय गरेर यकिन गर्नुपर्नेमा त्यसो गरेको देखिएन । 

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ (विसं २०५० को संशोधनसहित) को दफा १६.१, १७.५ आदिले पशुपति क्षेत्रभित्रको सार्वजनिक चौर, जग्गा जमिन, कोषको स्विकृतिबिना कसैले भोगचलन वा कुनै प्रकारको संरचना बनाउन सक्दैन भनी स्पष्ट किटान गरेको छ । पूर्वसहमति बेगर कुनै निर्माण गरिएको छ भने स्वतः बदर हुने कुरा दफा (२०.क) मा उल्लेख छ । सिफलचौर पशुपति क्षेत्रमा बचेको थोरै खुला ठाउँमध्येको एउटा हो । यो चारैतिरबाट अतिक्रमित बन्दै अहिले करिब १४–०–०–० रोपनी जति मात्र बचेको छ । 

सिफलचौर पशुपति क्षेत्रमा हुने यावत् जात्रामात्रा यहाँ ल्याएर परम्परा अनुसारको रीतिरिवाज सम्पन्न गर्ने ठाउँको रूपमा रहेको छ । यहाँ हुने गुह्येश्वरी जात्रा, वत्सलेश्वरी जात्रा, जयवागीश्वरी यात्रा, त्रिशूल जात्रा, पिङ्गनमाई जात्रा, नक्साल भगवती जात्रालगायत विभिन्न तिथिमितिमा हुने जात्रामात्रामा ठुलो समूहमा सहभागी भई पर्व–उत्सव सम्पन्न गर्ने गरिन्छ । केही वर्षयता राजनीतिक माहोलको भेला र भाषण गर्ने खुला ठाउँ पनि सिफलचौर बन्न पुगेको छ । महाशिवरात्रि, सद्बीजारोपण आदि तीर्थयात्री एवं भक्तजनको भिड लाग्ने पर्वमा बेला बेलामा यहाँ पालपण्डाल, कहिलेकाहीँ पार्किङ आदिको व्यवस्था पनि गर्ने गरिएको पाइन्छ । 

सिफलचौरको पूर्वपट्टि स्थानीय नेवार समुदायको इष्टदेवी–कुलदेवीको स्थान पनि रहेको छ, जहाँ विभिन्न पर्व उत्सवमा पूजाआजा गर्न आउँछन् । त्यहाँ नेसं ७४५ माघशुक्ल (विसं १६८१) को जीवन वैद्य भन्ने दाताले इन्द्रवल नामको खेत १ कर्ष (०–४–०–०) दिएको उल्लेखसमेत गरिएको छ । 

चौरको संरक्षण–संवर्धन गर्ने कामनपाको उद्देश्य हो भने प्यारापिटलगायतको धेरै संरचना नबनाइ चारैतिरबाट ‘ग्याभिएन वायर’ बाट बलियोसँग बारबेर गरेर यसको जोगाड गर्न सकिन्छ । जसरी जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने सत्तलको दक्षिणपट्टिको खुला चौरमा गरिएको छ । यसका लागि पनि पशुपतिक्षेत्र विकासको सहमति र स्वीकृति त लिनै पर्छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ (२०५० को संशोधनसहित) दफा १६.१ बमोजिम संरक्षण गर्ने जिम्मा नेपाल सरकार र पशुपति क्षेत्रको भएकाले तदनुसार आपसी सरसल्लाह र सहमतिमा हुनुपर्ने व्यवस्था ऐनले नै तोकेको सन्दर्भमा त्यसो नगरी सिधै कामनपाले विसं २०८२ श्रावण २९ गते टेन्डरको सूचना प्रकाशित गरी टेन्डरसमेत खुलाएर सार्वजनिक गरेको विषयले कानमपा र स्थानीयबिच वैमनस्य बढाउने काम गरेको देखिँदै छ, जुन कुनै पनि हालतमा उपयुक्त हो भन्न सकिन्न । यस विषयमा वडा नं. ७ का वडा अध्यक्ष त लौ चुके चुके, वडा नं. ८ का अध्यक्षले पनि त्यसको धार्मिक–सांस्कृतिक महत्व बुझेका थिए । त्यसमा पनि आफ्नै घरछेउको चौर ! पशुपति क्षेत्रको सीमानाभित्र कामनपाका ७, ८ र ९ वडाका केही क्षेत्र समेटिएको छ । 

सिफलचौर पहिले निकै फैलिएको थियो । केही दशकअगाडि उत्तर एवं पश्चिमतर्फको सडक बिस्तार गर्दा एकातिर खुम्चियो, अर्कोतिर दक्षिणतर्फ नेपाल बाल व्यावसायिक केन्द्र माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणका लागि यहीको जग्गा दिँदा खुम्चियो । सिफलचौर भनिए पनि यहाँ चौरको हरियाली कहिल्यै देख्न पाइएन । यो ‘धुले चौर’ बनेर रहेको छ । साँच्चै भनौँ भने बेवारिस झैँ छ । चौरको दुईतिर कसैका घरमा बढी भएको काम नलाग्ने माटो यहाँ ल्याई फ्याल्ने गरिएको पाइन्छ । बिस्तारै यो अरू अतिक्रमित हुने अवस्थामा पुग्ने ढाँचाकाचामा गइरहेको देखिँदा यसको सम्भार एवं संरक्षणका लागि सरोकारवाला निकाय लाग्नुपर्ने हो ।

सिफलचौरमा एउटा परम्परा के छ भने कुनै पनि स्थानीय जात्राको खट वा रथ ल्याउँदा भण्डारखालको पश्चिमतर्फ रहेको भित्तामा ठोक्याउनु पर्ने चलन छ । यसको कारण उहिले यहाँ मानिसको बस्ती थियो । बस्ती हुँदासम्म बस्तीमा लग्ने गरिएको जात्रा पछि रोकियो । त्यहाँबाट बस्ती सारेर इँटापाखामुनि सारेको बूढापाका बताउँथे । पशुपतिनाथ भण्डार तहबिलका तात्कालिक बिसेट नायक गणेश बिसेटको पुर्खाहरू त्यही बस्तीबाट इटापाखामुनि सरेको कुरा बताउनुहुन्थ्यो । भण्डारखालमा उहिले बस्ती थियो भन्ने बुझाउने सङ्केत पूर्वपट्टिको पर्खालमा बस्तीका मानिस आउजाउ गर्ने अझै ढोका रहेको छ । यद्यपि यसको हिजोआज प्रयोग हुँदैन । त्यसो त भण्डारखाल उद्यानमा पटक पटक पुरातात्त्विक उत्खनन गर्दा लिच्छविकालिक पोखरी, माटाका भाँडाकुँडा पनि पाइएको थियो, जसले ती अनुचिह्न लिच्छविकालिक इतिहासको अभिन्न अङ्ग हुन् भनेर देखाउँछ ।

धार्मिक–सांस्कृतिक महत्व भएको सिफल जस्तो खुला ठाउँ वा चौरलाई कसरी संरक्षण–संवर्धन गर्ने भन्ने नीति तथा कार्यक्रम ल्याएर जोगाड गर्नु भनेको यहाँको इतिहास, संस्कृति र परम्परालाई जोगाउनु भन्ने हुन्छ । पशुपति क्षेत्रमा उसै पनि खुला ठाउँ मासिँदै गइरहेका छन् । कुनै बेलाको फराकिलो खुला ठाउँ भुलाङ्खेल वडा नं. ७ कार्यालय भवन, पशुपति क्याम्पस, नेपाल दूरसञ्चार प्राधिकरणको हातमा केही दशकअगाडि परिसक्यो । त्यसै गरी चाबहिल चन्द्रविनायकमन्दिर उत्तरपट्टिको खुला ठाउँ तरकारी पसलले ओगटिहाले । 

सार्वजनिक महत्वका ठाउँ जुन उद्देश्यले राखिएको हुन्छ, त्यहाँ त्यही उद्देश्य अनुसारका काम कुरा हुन सकेनन् वा अर्को उद्देश्य रहेका कुनै सङ्घ संस्थाको प्रवेश हुना साथ आपसी सद्भाव र समन्वयको अभावमा त्यसको मूल अस्तित्व नै नामेट हुन्छ । यसका अनेकौँ उदाहरण हाम्रै वरिपरि घटेका छन् । 

पहिलेको विशाल रानीपोखरी, कमलपोखरी एवं टुँडिखेलको सम्झना आउँछ । ती कहाँ गए ? त्यत्रो विशाल टुँडिखेल टुक्राटुक्रा भएको छ । पहिले रानीपोखरीको दक्षिणी बारदेखि त्रिपुरेश्वर मन्दिरसम्म फैलिएको थियो टुँडिखेल । कुनै बेला एसियाकै सबैभन्दा ठुलो परेड मैदान भनेर चिनिने टुँडिखेलको हालत हेरौँ त अहिले कसरी खुम्चेको छ ? त्यसैलाई टुक्य्राएर रत्नपार्क बन्यो, त्यसकै दक्षिणपट्टि खुलामञ्च बन्यो, त्यसकै अर्कोतिर सैनिक मञ्च बन्यो, सहिद गेट त्यहीँ, जङ्गी अड्डा त्यहीँ, त्यहीँ रङ्गशाला गर्दा टुक्रा टुक्रा पारिएर क्षतविक्षत बन्न पुग्यो ! खुला ठाउँ त कतै देख्नै नहुने जस्तो भएको छ । यही स्थिति काठमाडौँ बाहिर पनि छ ।

पोखरीको कत्रो महत्व छ । त्यसलाई नबुझेर पुर्ने र सरकारी घर–भवन बनाउने, व्यक्तिविशेषले अतिक्रमण गर्ने रोग राष्ट्रिय रोग जस्तो बन्न गएको छ । सार्वजनिक चौर, खुला ठाउँ देख्नै नहुने अवस्था यत्र तत्र छ । सहर, बजारतिर त एक किसिमले भन्ने हो भने सास फेर्ने ठाउँ पनि छैन जस्तो भइसकेको छ । ठुलठुला प्राकृतिक प्रकोप, भूकम्प जस्ता विपत् आइलाग्यो भने सर्वसाधारण नागरिक खुला ठाउँमा गएर बचौँला भन्ने अवस्था पनि छैन ।

आजको दशरथ रङ्गशाला छँदाखाँदाको कमलपोखरीलाई पुरेर बनाइएको हो । पोखरीहरू त देख्नै नहुने भएको छ हिजोआज, पुरिदिइहाल्ने । पोखरी भनेको बस्तीवस्तुको अभिन्न अङ्ग थियो कुनै बेला । सुखमा पनि, दुःखमा पनि मानिसका लागि पानी नभई नहुने अमृत तत्व हो । सहरबजारको सौन्दर्यको साथै बस्तीमा आवश्यक पर्दा पानीको उपलब्धता गर्न–गराउन पोखरीले कत्रो भूमिका खेलेको हुन्छ, त्यो गाउँबस्तीमा आगलागी जस्ता घटना घटेको बेलामा महसुस गर्न सकिन्छ । एकातिर गर्मीमा शीतलता दिने, अर्कोतिर आगलागी जस्तो दुर्घटना हुँदा सजिलै पानी पाउन सकिने । बस्तीका वस्तुभाउका लागि होस् कि चराचरुङ्गी हुन्, तिनका लागि पनि बाँच्ने आधार हुन्, तालतलैया, पोखरी । पाल्पाको टुँडिखेल त्यसै गरी धमाधम अतिक्रमित हुँदै गएको छ । धनकुटामा त्यस्तै अवस्था छ । यो एक–दुई ठाउँको कुरा होइन, देशभरिकै समस्या बन्न पुगेको छ । 

ढुङ्गेधाराको अवस्था त्यस्तै नाजुक बन्दै गएको छ । ढुङ्गेधारा वास्तु साँच्चै भन्ने हो भने नेपालको आफ्नै विशिष्ट पहिचान हो । कहाँ त्यति सजिलै ढुङ्गेधारा निर्माण गर्न सकिन्छ ? यसलाई त ईश्वरीय देन भने हुन्छ । एकातिर कलाकृति ढुङ्गेधारा वरपर राखिँदा भव्यता बढाइरहेका, अर्कोतिर चौबिसै घण्टा कल्कलाउँदो मूलको पानीले प्यास मेटाइरहने !

काठमाडौँ खाल्डोका जति पनि पुराना सहर छन्, त्यहाँ एकसे एक कल्कलाउँदो पानी आउने ढुङ्गेधारा थिए । आज ती अधिकांश फोहोर फ्याल्ने रछानमा परिणत भएका छन् । धरहरानिरको त्यत्रो आकर्षक सुन्धारालाई सुकाएरै छाडिदिए । पाटन नागबहालनिरको ढुङ्गेधाराको त्यही अवस्था छ, पाटन सुन्धाराको त्यस्तै अवस्था छ, देवपत्तनको सुन्धारालाई त्यस्तै हविगतमा पु¥याए । देवपत्तनको अरूण, वरुण धारा, वनकालीको ढुङ्गेधारा, भुवनेश्वरी प्राङ्गणको ढुङ्गेधारा, चन्द्रविनायक मन्दिरको पूर्वतर्फको ढुङ्गेधारा, गङ्गाहिटीको अवस्था पनि त्यत्तिकै नाजुक अवस्थामा छ । नारायणहिटी खत्तमै जस्तो भयो । त्यसको कति पुरानो इतिहास छ, लिच्छवि राजा धर्मदेव र मानदेवसँग जोडिएको ।

 पिउने पानीको हाहाकार एकातिर छ, अर्कोतिर भएका पानीका स्रोत धमाधम कि सुकाइँदै छन्, कि पुरिँदै छन् हेर्ने निकाय नै नभए बराबर छ । सामाजिक चेतना जागेको ठाउँमा कतै चासो देखाए पनि ती शून्य बराबरकै भने जस्तो छ । तिनलाई बचाएर पनि विकास निर्माणको कार्य गर्न नसकिने होइन । खै सम्बन्धित निकायको ध्यानै पुगेन । 

विदेशबाट साथीभाइ आउँदा काठमाडौँ खाल्डोका कतिपय ऐतिहासिक स्थलको भ्रमणमा जाँदा उनीहरूलाई ढुङ्गेधारा र यसभित्रको रहस्य सुनाउँदा दङ्ग पर्थे । कैयौँ किलोमिटर टाढाको पानीको स्रोतबाट पाकेको माटोको डुँडको माध्यमबाट ढुङ्गेधारामा ल्याइपु¥याइ पिउने पानी वितरण गर्ने नेपालको परम्परागत इन्जिनियरिङ देखेर छक्क पर्थे उनीहरू । जाडो याममा तातो, गर्मी याममा चिसो पानी उपलब्ध हुने विशेषता सुन्दा त अरू आश्चर्य चकित हुन्थे । 

हुन पनि जाडो याममा त भर्खर कसैले तताएर मनतातो पानी दिए जस्तो लाग्छ । प्रकृति मानिसप्रति कत्ति दयालु छिन् । दिनानुदिन प्रकृतिमाथि कुठाराघात गर्दा, अचाक्ली दोहन र अतिक्रमण गर्दा मानिसको अस्तित्वमाथि नै विनाश आउने गरेको छ । यसलाई चाहिँ हामीले समयमै बुझ्न सक्नु पर्छ, नत्र महामारी, आतङ्क र सङ्कटको नयाँ नयाँ रूप र स्वरूप बढ्दै जाने स्थिति पनि आउँछ । 

सिफलचौर हाम्रो साझा सम्पदा हो, यसलाई जोगाउनु भनेको हाम्रो पहिचान जोगाउनु हो । विकास आवश्यक छ, तर संस्कृति र सम्पदालाई जोगाउन सकिएन भने त्यही विकास विनाशको बीज बन्न पुग्छ । पशुपति क्षेत्रको गुरुयोजनाको अवधारणामा सिफलचौर जस्ता खुला ठाउँको संरक्षण, संवर्धन एवं प्रवर्धन गर्ने कुराको उल्लेख छ तर यसलाई जतिसक्दो चाँडो अतिक्रमण हुनुबाट जोगाउँदै दूबोले हराभरा तुल्याउने, परम्परागत धार्मिक–सांस्कृतिक कार्यमा कुनै बाधा व्यवधान नआउने गरी जोगाउने काम हुन सक्यो भने पशुपति क्षेत्रको आकर्षण अरू अभिवृद्धि हुने छ भन्नेमा शङ्का रहँदैन ।