गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २९ गते । नेपाल टेलिकमले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रमा टेलिकमको नेटवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मन्त्री जगदीश खरेलको चासो र सक्रियतामा टेलिकमको नेटवर्क विस्तार र कुनाकन्दरामा इन्टरनेटको पहुँच अभिवृद्धि भएको हो । हालै बाजुराको बुढीनन्द गाउँपालिकाको वडा नम्बर ७ मा नयाँ फोरजी एलटिई टावर जडान गरी सेवा सञ्चालनमा ल्याउँदा सो पालिकाको वडा नम्बर ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित भएको स्थानीय नरेन्द्र महतले बताउनुभयो ।
यसअघि भ्वाइस र डेटा सेवा घाम लागेको बेला मात्रै चल्ने गरेको गुनासो गर्दै आएका स्थानीयले बुढीनन्द मात्र नभई मार्तडी–कोल्टी मार्ग र आसपासका बस्तीमा पनि इन्टरनेट तथा मोबाइल सञ्जालमा सुधार आएको बताएका छन् । त्यसै गरी अति विकट मानिएको डोल्पाको ठुलीभेरी नगरपालिका र से–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्ती सञ्चारको पहुँचमा जोडिएका छन् । दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले वडा नं. १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर बिहीबारदेखि सञ्चालनमा आएको जानकारी दिनुभयो । योसँगै बर्सौंदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्ती सञ्चार पहुँचमा जोडिएको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै डोल्पाको दुई वटा स्थानीय तहका रह, परिला, काग्नी, साँङ्टा, छेप्कालगायतका बस्तीमा फोन लाग्नुका साथै इन्टरनेटको पहुँच पनि पुगेको छ । टावर बनेसँगै सुलिगाडस्थित से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि राम्रो काम गरेको बताइएको छ ।
यसअघि गत असोज ३१ गते पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेस क्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार भएको थियो । त्यसै गरी गत असोज ३० गते बझाङको तलकोटमा पहिलो पटक फोरजी सेवा विस्तार भएको थियो । असोज ३१ गते नै दार्चुलाको मार्मा गाउँपालिकामा टेलिकमको टुजी र फोरजी सेवा सुरु भएको थियो । सञ्चारमन्त्री खरेलको ताकेतापछि जाजरकोटमा दुई सातादेखि अवरुद्ध दूरसञ्चार सेवा सुचारु भएको थियो । सञ्चारमन्त्री खरेलले टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा उक्त सेवाको पहुँच पु¥याउन लागिपरेको बताउनुभयो । उहाँले सञ्चार पहुँच प्रत्येक नागरिकको अधिकार रहेको बताउँदै सबै जिल्लामा समान सेवा सुनिश्चित गर्न टेलिकमलाई निर्देशन दिनुभएको छ ।
९१.५५ प्रतिशत जनसङ्ख्यामा पहुँच
प्राधिकरणका अनुसार अहिले मोबाइल ब्रोडब्यान्ड ९१.५५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भएको छ । मुलुकभर अहिलेसम्म फोरजी सेवा ८८.६८ प्रतिशत, फाइबर सेवा ४८.८१ प्रतिशत, टुजी सेवा १०.३६ प्रतिशत र थ्रिजी सेवा २.८६ प्रतिशतमा पुगेको छ । अहिले मोबाइल ब्रोडब्यान्ड अन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५.९६ प्रतिशत र एनसेलको ४४.०४ प्रतिशत पुगेको छ । गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगकर्ता एक करोड ४३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् । प्राधिकरणका अनुसार अहिले फिक्स्ड ब्रोडब्यान्ड (वायर्ड) ४८.८२ प्रतिशत जनसङ्ख्यामा पुगेको छ ।
टावर अपग्रेड हुँदै
नेपाल टेलिकमले अहिले सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, अछाम र बैतडीका दुर्गम स्थानमा नयाँ टावर जडान र पुराना टावर अपग्रेड गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । निजी क्षेत्रको सेवाप्रदायक कम्पनी एनसेलले गुणस्तर सुधार र सेवा विस्तार अघि बढाएको सञ्चार मन्त्रालयले जनाएको छ । अहिले एनसेलको फोरजी सेवा विभिन्न दुर्गम क्षेत्रसहित ९५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भइसकेको छ भने ९२ प्रतिशतभन्दा बढीमा टुजी सेवा छ ।
यसैबिच दाङको केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा नभएको विषयबारे गुनासो आएपछि सञ्चारमन्त्रीले तत्कालै टेलिकमका कर्मचारीलाई निर्देशन दिएलगत्तै टेलिकमको डिभिजन कार्यालयका प्रमुख वरिष्ठ इन्जिनियर प्रवीण चौधरी नेतृत्वको प्राविधिक टोली फिल्डमा खटिएर मर्मत गरेको थियो । घोराही उपमहानगरपालिका–३ र ५ का केही क्षेत्रमा देखिएको नेटवर्क समस्या समाधान भएको थियो । टेलिकम तुल्सीपुर दाङले फोरजी नेटवर्क सुधार गरेको जनाइएको छ ।