• २८ कात्तिक २०८२, शुक्रबार

खेलाडी तयार पार्दै कावासोती नगरपालिका

blog

ज्ञानु पंगेनी 

मध्यविन्दु, कात्तिक २८ गते । कावासोती नगरपालिकाले फुटबल खेलका लागि खेलाडी तयार पार्दैछ । 

नगरपालिकाले आयोजना गर्न लागेको पहिलो कावासोती खुला गोल्डकप प्रतियोगिता खेल्ने खेलाडीहरू तयार गर्नका लागि अहिले छनोट प्रतियोगिता सञ्चालन गरिएको हो । 

यही कात्तिक २४ गतेदेखि २७ गतेसम्म पहिलो चरणको छनोट प्रतियोगिता सम्पन्न भएको छ । २४ गते कावासोती १२ राजमन्दिर खेल मैदानमा ११, १२, १३ र ७ नं. वडाहरुबाट पहिलो चरणको खेलाडी छनोट प्रतियोगिता भएको थियो । 

२५ गते कावासोती एकको कार्यालय स्थित खेल मैदानमा १,४,५ र ६ नं. वडाबाट खेलाडी छनोट गरिएको हो । कात्तिक २५ गते  कावासोती १७ गोछाड खेलमैदानमा १४, १५, १६ र १७ नं. वडाबाट खेलाडी छनोट गरिएको हो । यस्तै कात्तिक २७ गते कावासोती ८ को टुबोर्ग ग्राउण्मा २, ३, ८, ९ र १० नं. वडाबाट छनोट प्रतियोगिता भएको थियो । 

पहिलो चरणको छनोट प्रतियोगिताबाट पालिकाको १७ वटै वडाबाट ६४ जना खेलाडी छनोट गरिएको कावासोती नगर खेलकुद विकास समितका अध्यक्ष तथा कावासोती १२ का अध्यक्ष ध्रुव खनाल दिपेशले जानकारी दिनुभयो । 

वडाबाट छनोट भएका खेलाडीमध्येबाट आउँदो मङ्सिर ६ गते डण्डा खेल मैदानमा फाइनल चरणको प्रतियोगिता गराई ४० जना छनोट  गरिने अध्यक्ष खनालले बताउनुभयो । 

४० जनाबाट २०/२० जना रहेको दुई वटा समूह छनोट  हुने र ती समूहले कावासोती गोल्डकप खेलमा प्रतिस्पर्धा गर्ने अध्यक्ष खनालले बताउनुभयो । 

कावासोती नगरपालिकाले फुटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य राखेर यस वर्षदेखि पहिलो कावासोती खुला गोल्डकप प्रतियोगिता सञ्चालन गर्न लागेको छ ।

जसलाई सफल बनाउन विभिन्न तयारीका सुरु गरेको छ । खेलको मुख्य तयारी भनेकै खेलाडी भएको हुँदा खेलाडीहरू पनि प्रतिस्पर्धामार्फत छनोट गर्ने काम गरिएको अध्यक्ष खनालको भनाई छ । 

सबै वडाहरुबाट छनोट  गरिएका खेलाडीलाई विभिन्न चरणको प्रतिस्पर्धा मार्फत छनोट गरेर फाइनल प्रतिस्पर्धा गराएर अन्तिम टुङ्गो लगाउने काम हुने उहाँले बताउनुभयो ।