• २८ कात्तिक २०८२, शुक्रबार

बेसी झरे मनाङका चौँरी

blog

बेसीमा चर्दै गरेका याक तथा चौँरीहरु । तस्बिर : गोरखापत्र

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक २८ गते । मनाङका उच्च लेकमा पालिएका याक, चौँरी तथा भेडाच्याङ्ग्रालाई बेसीमा सारिएको छ । 

डेढ हप्ताअघिको भारी हिमपात र अत्यधिक चिसोका कारण उनीहरूलाई तल्लो क्षेत्रमा सारिएको हो । उच्च लेकमा चरनक्षेत्र पूरै हिउँले ढाकिएपछि र पानीका मुहान जमेपछि याक र चौँरीलाई चिसोबाट जोगाउन बेसीका न्यानो स्थानमा लगिएको हो ।

मनाङमा याक चौँरीको व्यवस्थापन वषैनी यही तरिकाले गरिन्छ । हिमपात सुरु भएपछि कात्तिकदेखि जेठ महिनासम्म उनीहरूलाई बेसीमा झारिन्छ र हिउँ पग्लेर गर्मी सुरु भएपछि वैशाखदेखि कात्तिक मसान्तसम्म उच्च लेक तथा खर्कमा पु¥याइन्छ । 

मनाङ ङिस्याङका पशुपालक युवा कृषक सगर गुरुङले उच्च हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै घाँसको अभाव भएकाले आफ्ना सबै पशुचौपाय बेसी झारिएको बताउनुभयो ।

उच्च लेकमा हिमपातका कारण चरनक्षेत्रको अभाव हुने, घाँस, पानी र आहाराको व्यवस्थापनमा समस्या हुने तथा गोठालाहरूलाई पनि चिसोले सास्ती दिने भएकाले याक, चौँरी तथा भेडाच्याङ्ग्रालाई बेसीमा झारिन्छ । गर्मी सुरु भएपछि भने उनीहरूलाई उच्च लेकका अस्थायी गोठमा लगिन्छ । 

हिमपात र जाडो छल्न नार्पाभूमि गाउँपालिकाका लेकहरूमा रहेका सबै याकचौंरी बेसी झारिएको नार्पाभूमि–२ अर्का युवा कृषक सुनील गुरुङले बताउनुभयो । आफ्ना ३५ याक र चौंरीलाई माथि हिमाली लेकबाट गाउँनजिकै झारिएको उहाँको भनाइ छ ।

हिउँदयाममा चौँरीको रेखदेखमा समस्या हुने र उच्च लेकमा घाँस तथा खानेपानीको समस्या हुने भएकाले बेसीमा सार्नुपरेको नासो गाउँपालिका वडा नं. ८ का वडाध्यक्षसमेत रहेका याद घलेले बताउनुभयो । 

घलेले याकचौंरी सँगै भेडाबाख्रा र च्याङ्ग्रा पनि गाउँमै झारिएको उहाँको भनाइ छ । हिउँदमा मलका लागि पनि गाउँमै गोठ राख्नुपरेको घलेले बताउनुभयो । पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा रहेको व्यावसायिक याक र चौँरीपालन जलवायु परिवर्तनका कारण संकटमा पर्न थालेको छ । 

जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँसको अभाव हुनु र हिमचितुवालगायतका वन्यजन्तुको आक्रमणबाट याक चौँरीलगायतका घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमले गर्दा यहाँको परम्परागत चौँरीपालन व्यवसाय संकटमा परेको हो ।

यहाँ पालिएका चौँरी तथा याकनाकपालनलाई जलवायुको संकट थपिएको छ । भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौँरीपालनमा परेको छ । मनाङका किसानले चौँरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार बनाउँछन् भने चौँरीको पुच्छर हिन्दू धर्मालम्बीहरूले पूजाकोठामा राख्ने भएकाले यो महँगो मूल्यमा बिक्री हुन्छ ।