• २६ कात्तिक २०८२, बुधबार

शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

blog

काठमाडौँ, कात्तिक २६ गते। झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध फर्जी शैक्षिक योग्ताको प्रमाणपत्र पेस गरेको मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार निरौला २०५५ सालमा सो विद्यालयको प्रावि तहको शिक्षकका लागि अस्थायी नियुक्ति भई कार्यरत रहेका थिए। सोही अवस्थामा २०७५ चैत २८ गते स्थायी नियुक्ति लिई प्रावि तह तृतीय श्रेणीको शिक्षकको रूपमा हालसम्म कार्यरत रहेको देखिएको छ। 

आयोगका अनुसार निजले नियुक्ति लिनका लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको भनी नक्कली तथा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। 

निजले प्रावि तहको शिक्षक पदमा कार्यरत रही तलब, भत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधासमेत प्राप्त गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएको हुँदा सोही बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।