• २६ कात्तिक २०८२, बुधबार

लोकतन्त्र विरोधी अभ्यास सह्य हुँदैन : नेता अधिकारी

blog

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता खगराज अधिकारीसहित अन्य नेताहरू ।

लक्ष्मी तिमिल्सेना

जमुनाह, कात्तिक २६ गते । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गत भदौ २३–२४ गतेको आन्दोलनले जेनजी पुस्तामाथि नै न्याय गर्न नसकेको बताउनुभएको छ । बुधबार बाँकेको नेपालगन्ज स्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा प्रेस चौतारी बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पछिल्लो समयमा भएका घटनाक्रमको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन सकिने र नवयुवासहितको सर्वपक्षीय सरकार बनाउन सकिने कुरा उल्लेख गर्नुभयो । सर्वोच्च अदालतको न्यायाधीश मानवअधिकार आयोग बाहेक अन्त कहीँ पनि नियुक्त हुनु नहुने उहाँको भनाइ छ ।  

निर्वाचनमा जाने कि नजाने भन्ने प्रसङ्गमा, सबै पक्षलाई शान्ति र सुरक्षाको प्रत्यभूति गराउन सकेको खण्डमा एमाले निर्वाचनमा जाने उहाँले बताउनुभयो । यद्यपि निर्वाचनको नाममा राजा ज्ञानेन्द्रले कमल थापालाई अघि सारेर निर्वाचन गराएको जस्तो हो भने त्यस्तो निर्वाचनले निकास नदिने उहाँको भनाइ छ । 

उहाँले पुनःस्थापित संसदले संविधान संसोधनमार्फत जनप्रतिनिधिको सङ्ख्या सानो पार्नुपर्ने  बताउनुभयो । उहाँले थप्नुभयो,–‘उपराष्ट्रपति, राष्ट्रियसभाको अध्यक्ष हुने गरी प्रदेशका समानुपातिक प्रतिनिधिको सङ्ख्या उपयुक्त हुनेगरी सवल र समावेशी बनाउने प्रत्यक्ष निर्वाचितको सङ्ख्या समायोजन गराउने गरी तत्काल संविधान संशोधन गरेर निर्वाचन गराउन सकिन्छ ।’

क्रान्ति जारी रहेको भन्दै उहाँले सामन्तवाद र साम्राज्यवादका अवशेषविरुद्व लोकतन्त्रको संरक्षणका लागि प्राप्त उपलव्धिको संरक्षण गर्दै नयाँ उपलव्धिका लागि जानुपर्छ भन्ने जननेता मदन भण्डारी र अहिलेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अवधारणमा सबै एकमत रहेको दाबी गर्नुभयो ।