लीलाधर वली
घोराही, कात्तिक २६ गते । विद्युत् कटौती भएका दाङका दुई सिमेन्ट उद्योगले महसुलको पहिलो किस्ता तिरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१८, दुधरासमा रहेको सोनापुर मिनरल एन्ड आयल प्रालि र घोराही उपमहानगरपालिका–४, गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगले विद्युत् महसुलको पहिलो किस्ता तिरेका हुन् ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता सोनापुर मिनरल एन्ड आयल प्रालीले मङ्गलबार र घोराही सिमेन्टले बुधवार तिरेपछि विद्युत् जडान गरिएको नेपाल विद्युत् प्रधिकरण घोराही शाखा इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बाफत ८६ लाख ३० हजार रुपियाँ बुझाएको हो ।
सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपियाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरेर सोनापुर मिनरले पहिलो किस्ता ८६ लाख ३० हजार रुपियाँ बुझाएको हो । त्यसैगरी घोराही सिमेन्ट उद्योगले बुधबार पहिलो किस्ता बाफत एक करोड ८१ लाख ६१ हजार नौ सय ७६ रुपियाँ ४८ पैसा विद्युत् महसुल तिरेको छ । घोराही सिमेन्ट उद्योगको बक्यौता रहेको ५० करोड ८५ लाख ३५ हजार तीन सय ४२ रुपियाँको पहिलो किस्ता तिरेको हो ।
लामो समयसम्म विद्युत् महसुस नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ७ गते सोनापुर मिनरल एन्ड आयल प्रालि र कात्तिकको ४ गते घोराही सिमेन्ट उद्योगको बिजुली लाइन काटिदिएको थियो। विद्युत् जडान भएपछि दुवै उद्योग सञ्चालन भएका छन् ।