• २६ कात्तिक २०८२, बुधबार

एमसिसीको प्रसारण लाइनमा संरचना बनाउन नपाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २६ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले निर्माण गर्ने प्रसारण लाइन आसपासमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले एमसिए नेपालले निर्माण गर्ने प्रसारण लाइनको मध्यरेखाबाट २३ मिटर दायाँबायाँ पर्ने जग्गामा कुनै पनि प्रकारको संरचना निर्माण गर्न नपाउने गरी निषेध गरेको हो । त्यस्तै तोकिएको क्षेत्रमा रुख पनि रोप्न नपाउने मन्त्रीपरिषद्को निर्णय छ । 

नेपाल र संयुक्त राज्य अमेरिकाको अनुदान सहायतामा एमसिए नेपालले विभिन्न जिल्लामा पर्ने गरी चार सय केभी विद्युत् प्रसारण लाइन बनाउने क्रममा छ । उक्त प्रसारण लाइन पर्ने नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपरमा पर्ने एक हजार ३८१ हेक्टर क्षेत्रफलको जग्गाको दायाँबायाँ संरचना बनाउन नपाउने निर्णय मन्त्रीपरिषद्ले गरेको हो । यससँगै प्रसारण लाइन बनाउने अवरोध पनि एमसिए नेपालका लागि खुलेको छ । 

अमेरिकी सरकारको ५० करोड डलर अनुदान र नेपालको १९ करोड ७० लाख डलर लगानीमा चार सय केभीको प्रसारण लाइन तथा सडक स्तरोन्नति काम यस परियोजना अन्तर्गत हुने छ । जसलाई एमसिए नेपालले कार्यान्वयन गर्दै छ ।