• २१ मङ्सिर २०८२, आइतबार

फाल्गुनन्दको कर्मभूमिमा मनाइयो एक सय ४१ औं जन्मजयन्ती

blog

पाँचथरको फिदिम नगरपालिका–५ स्थित फाल्गुनन्दको पावन कर्मभूमि लब्रेकुटीमा रहेको फाल्गुनन्दको पूर्णकदको सालिक। तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, कात्तिक २५ गते। नेपालका १६ औं विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको एक सय ४१ औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

फाल्गुनन्दको समाधि रहेको शिलौती, उहाँको तपोभूमी लब्रेकुटी, तुम्बेवा याङवरक र फालेलुङको संगमस्थल चरिभञ्ज्याङ, फिदिम ४ को सुम्हात्लुङ गडी र याङनाम सहितका स्थानमा विभिन्न कार्यक्रम गर्दै उहाँको जन्मजयन्ती मनाइएको हो। 

लब्रेकुटीमा आयोजित कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले सम्बोधन गर्नुभयो। फाल्गुनन्दले पाँचथरको लब्रेकुटीमा १६ वर्ष बिताउनु भएको थियो। लब्रेकुटीमा उहाँको दुर्लभ कपाल, १९८८ सालको तान्त्रिक युद्वमा चर्केको थाल र उहाँ सुतेको खाट सुरक्षित साथ राखिएको छ। फाल्गुनन्द जयन्तीको अवसर पारेर ती वस्तु प्रदर्शन गरिएको छ।

उहाँको निधन २००५ साल चैत २२ गते भएको थियो। उहाँलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो।