राममणि दाहाल
मकवानपुर, कात्तिक २५ गते। मकवानपुरको राक्सिराङ गाउँपालिका–६ स्थित मौरीचरन क्षेत्रमा अन्य जिल्लाका मौरीपालक किसानलाई मौरी चरनका लागि रोक लगाइएको छ।
मौरीपालन पकेट क्षेत्रको रुपमा रहेको राक्सिराङ गाउँपालिका–६ मा स्थानीय मौरीपालक किसानका लागि चरन क्षेत्र सुरक्षित गर्न बाहिरी जिल्लाका मौरीलाई व्यवस्थापन गर्न नदिने गरी रोक लगाइएको हो।
सिलिङ्गे सामुदायिक वन उपभोक्ता समितिको बैठकले वडा नम्बर ६ को बढहरे, भागेनी, चापल, धुसराङ, माकलदमार, करौसे, सिलिङ्गेलगायतका स्थानमा राक्सिराङ गाउँपालिका–६ का मौरीपालक किसानको मौरी व्यवस्थापन गर्ने निर्णय गरेको मौरी चरन क्षेत्र व्यवस्थापन समितिका सहसंयोजक दिनेश प्रजाले जानकारी दिनुभयो।वडा नं. ६ मा ३६ जनाभन्दा बढी मौरीपालक किसान रहेकोले उनीहरुको मौरी चरनका लागि स्रोत नपुग्ने भएकोले अन्य जिल्लाका मौरी व्यवस्थापनमा रोक लगाइएको उहाँको भनाइ छ।
सिलिङ्गे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल तामाङको संयोजकत्वमा प्रजा सहसंयोजक तथा सुमन प्रजा, रावन प्रजा, बेलमान प्रजा र दिपन प्रजा रहेको स्थानीय मौरीपालक किसानको मौरीका घार व्यवस्थापन गर्न समिति गठन गरिएको छ।
राक्सिराङ गाउँपालिका–६ स्थित सिलिङ्गे सामुदायिक वन समूहको क्षेत्रमा यसअघि चितवनलगायतका जिल्लाका मौरीपालक किसानले मौरी चरनका लागि मौरी ल्याउँदै आएको स्थानीयलाई चरनका लागि स्रोत अपुग भएको भन्दै स्थानीयले बाहिरी जिल्लाका मौरी व्यवस्थापनमा रोक लगाउँदै आएका हुन्।
चिउरी, साल, रुदिलो, तोरीलगायतको फूल लाग्ने समयमा स्थानीयले मौरी व्यवस्थापन गरी मौरी पालनबाट स्थानीयले राम्रो आम्दानी लिँदै आएका छन्।