• २५ कात्तिक २०८२, मङ्गलबार

दुईदिन देखि ठप्प गजेन्द्रनारायण अस्पतालको सेवा सुचारु

blog

गजेन्द्रनारायण सिंह अस्पताल । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी) कात्तिक २५ गते ।
आइतबार रातिदेखि ठप्प गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको सेवा मङ्गलबारबाट सुचारु भएको छ । अस्पतालको समस्या समाधान गर्न स्थानीय प्रशासनले बोलाएको सर्वपक्षिय बैठकमा चिकित्सकमाथि हातपात गर्ने उपर कारबाही र क्षतिपूर्तिको व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएपछि अस्पतालको सेवा सुचारु भएको हो ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ हर्दिया टोलकी रेखा यादवले आइतबार जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआईसियु कक्षमा राखिएको थियो । साँझ पख अचानक सर्ट सर्किट भई झरेको बल्बले नवजात शिशुको टाउको र गालमा जलन भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड, चिकित्सकलाई गाली गलौज गर्दै निमित्त मेसु डा. दिलिप साह माथी हातपात गरेपछि गजेन्द्रनाराण सिंह अस्पताल राजविराजको आकस्मिक बाहेकाका सबै सेवा ठप्प भएको थियो ।

सर्वपक्षिय छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घट्नामा संलग्न उपर कारवाही र क्षतिपूर्ति भराउने प्रतिवद्धता जनाउनु भएपछि अस्पतालको सेवा सुचारु गर्ने सहमती भएको निमित्त मेसु साहले जानकारी दिनुभयो ।

घटनामा संलग्न उपर कारबाही गरी क्षतिपूर्ति भराइने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।

अस्पताल प्रशासनले सोमबार सूचना प्रकाशित गरेर चिकित्सकमाथि हातपात तथा अस्पतालको विभिन्न फाँटमा तोडफोड गर्नेहरुलाई पक्राउ तथा सुरक्षाको पूर्ण प्रत्याभूती नगराएसम्म आकस्मिक कक्ष बाहेक अन्य सेवा सुचारु गर्न असर्मथ हुने जनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले अस्पतालमा तोडफोड गर्ने चारजना लाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका ४ का २४ वर्षीय उदय ठाकुर, सोही स्थानका २४ वर्षीय बिनित चौहान, विष्णुपुर गाउँपालिका ६ का ५० वर्षीय प्रमेश्वर यादव र २५ वर्षीय रमन यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले घट्नामा संलग्न मध्येका चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।