गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने बताउनुभएको छ । चलचित्र विकास बोर्डले सोमबार आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने छ भन्नुभयो ।
सञ्चारमन्त्री खरेलले समाज रूपान्तरणका निम्ति नेपाली चलचित्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “देशको परिवर्तनको सूत्रधार चलचित्र क्षेत्र हो । जसले आफ्नो सम्पूर्ण जीवन राष्ट्रका निम्ति बिताउनुभएको छ । तपाईंहरूको सामाजिक सुरक्षालगायत विषयमा राज्यले हेर्नुपर्ने हुन्छ ।”
चलचित्रकर्मीले ऐतिहासिक चलचित्र आमा, माइतीघरलगायत देशको गाथा गाएर मातृभूमिको रक्षा गरेर राष्ट्रप्रतिको भाव दर्साउन खेलेको भूमिकालाई बिर्सन हुँदैन । चलचित्र निर्देशन, अभिनय र कथावस्तुमार्फत समाजभित्रका कुरीति, अव्यवस्थाका विरुद्धमा चेतनाको बिगुल फुक्ने नायकनायिका, निर्देशकलगायतमा नमन गर्दछु । उहाँले चलचित्रकर्मी प्रेम, शान्ति, भावना रआत्मीयताको प्रतीक हुन् भन्दै चलचित्रकर्मीले जत्तिकै नेपालका राजनीतिक दल, प्रशासकले गरिदिएको भए अहिले परिवर्तनले खोजेबमोजिम हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली चलचित्रमार्फत समाज रूपान्तरणका लागि खेलेको भूमिका र योगदानलाई मुलुकले कहिल्यै भुल्ने छैन भन्नुभयो । उहाँले भन्नुभयो, “देश र जनताको हितमा, नेपाली चलचित्र क्षेत्रको विकास र चलचित्रकर्मीका लागि आफ्नो कार्यकालमा राज्यकातर्फबाट के के गर्न सकिन्छ कार्ययोजना ल्याउन मन्त्रालयका पदाधिकारीलाई आवश्यक निर्देशन दिएको छु, केही नीतिगत परिवर्तनमा गर्नुपर्ने कामबारे छलफल सुरु भइसकेको छ ।” सञ्चारमन्त्री खरेलले नेपाली चलचित्र क्षेत्रमा समयसापेक्ष नवीनता र सिर्जनात्मक परिवर्तन आएको उल्लेख पनि गर्नुभयो ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकास, चलचित्रकर्मीको सामाजिक सुरक्षालगायत विविध विषयमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
सो अवसरमा सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा उल्लेखनीय योगदान पु¥याउने १५ जना चलचित्रकर्मीलाई नगद र कदरपत्रसहित सम्मान गरेको छ । कलाकारहरू शिव श्रेष्ठ, सविता गुरुङ, तीर्थ थापा, हेमन्त बुढाथोकी, गायक यस कुमार, गायिका अञ्जु पन्त, चलचित्र पत्रकार धु्रव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू, निर्देशकद्वय सम्झना रौनियार र युवराज लामा, निर्माता किसन पोखरेल, केशव भट्टराई (कलाकार–मरणोपरान्त), कलाकार नाजिर हुसेन, रिमेश अधिकारी र रेनिश फागो सम्मानित हुनुभएको हो ।